के.के. मानन्धर
दक्षिण एशियाका विभिन्न देशमा क्रियाशील पत्रकारहरुलाई समेटेर नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ हुने भएको छ ।
यसको जानकारी ललितपुरमा पत्रकार सम्मेलन गरेर देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले दिएको हो । आउँदो २०८२ जेठ ३० र ३१ गते (शुक्रबार र शनिबार) दुई दिने सम्मेलन गर्ने तयारी भएको जानकारी दिइएको छ । सार्क जर्नालिष्ट फोरम र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सँग सहकार्य गरी पत्रकार राष्ट्रिय दबूले भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान लगायतको ठाउँका पत्रकारहरुलाई सहभागी गराउने बताइएको छ ।
विभिन्न देशबाट ४० जना पत्रकारहरुले सम्मेलनमा सहभागी हुनको लागि नाम टिपाएको जानकारी सो अवसरमा दिइयो । कार्यक्रमका संयोजक सुनील महर्जनका अनुसार पत्रकार राष्ट्रिय दबूले यसअघि गएको वर्ष प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४४ सम्पन्न गरेको थियो । नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले मातृभाषाको पत्रकारिता शुरु गर्नुभएको १०१ वर्ष पुगेको सन्दर्भमा सम्मेलनको आयोजना गर्न लागेको बताइएको छ ।
सम्मेलनबाट नेपालमा मातृभाषा पत्रकारिताको अवस्था र नेपाल बाहिर भइरहेको पत्रकारिताको विकासक्रम सम्बन्धी सूचना आदानप्रदान हुने अपेक्षा गरिएको छ । सोही विवरण लिखित रुपमा दस्तावेजको रुपमा रहने, नेपालमै विभिन्न भाषाको माध्यमबाट गरिने पत्रकारितालाई पूर्ण व्यावसायिक बनाउन सहयोगीसिद्ध हुने, समावेशी पत्रकारिताको प्रयोग अझ सहज हुने अपेक्षा पनि आयोजकले गरेको छ ।
सम्मेलनले मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकारहरूको हौसला बढ्ने विश्वास लिइएको छ । पहिलो दिनको कार्यक्रम ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष र दोस्रो दिनको कार्यक्रम भक्तपुरको मध्यपुर थिमिमा हुने आयोजकले जनाएको छ ।
मातृभाषा संरक्षणको लागि पत्रकारिता मूल नारा दिएर अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलन गर्न लागिएको हो ।
