सुनसरी/ विद्यालोक धरान ग्रन्थको लोकार्पण गरिएको छ । प्रधान सम्पादक खेमनाथ दाहाल एवं सम्पादक रमेश दाहालद्वारा सम्पादित उक्त ग्रन्थलाई नेपाली वाङ्मयमा शीर्ष स्थान कायम गरेका वरिष्ठ गीतकार कालीप्रसाद रिजालको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो ।
प्रवेशिका परीक्षा समूह— २०२५, धरानद्वारा यो ग्रन्थ प्रकाशन गरिएको बताइएको छ । प्रकाशन व्यवस्था समितिका संयोजक भुपेन्द्र कार्कीद्वारा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गरिएको थियो । उक्त समारोहका विशिष्ट अतिथि लब्धप्रतिष्ठित व्यक्तित्व सुरेशकुमार शर्मा, विशेष अतिथिहरुमा प्रा.डा. माधवप्रसाद पोखरेल वरिष्ठ अधिवक्ता हरिहर दाहालको उपस्थिति थियो । यसैगरी पब्लिक हाइस्कूलका प्रधानाध्यापक इन्द्रमोहन झा, राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सी., धरान उपमहानगरपालिकाका पूर्व उपप्रमुख मञ्जु भण्डारी, पूर्व कामु सचिव सुरेशकुमार वर्मा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी., अभिनेत्री प्रियङ्का कार्की आदिको पनि उपस्थिति थियो ।
पब्लिक हाइस्कूल धरानका व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा भएको लोकार्पण समारोहमा प्रमुख अतिथि रिजालले एनिमेशन गरिएको विद्यालोक धरान ग्रन्थको भिडियो ब्यानर प्रोजेक्टरमार्फत सार्वजनिक गर्नुभएको थियो । सोभन्दा अघि पं. स्व. छविलाल पोखरेल र पब्लिक हाइस्कूलका पूर्वप्रधानाध्यापक स्व. हरिहरप्रसाद वर्माको तस्वीरमा सरस्वती माताको तस्वीरसहितमा माल्यार्पण तथा दियो बाली समारोहको शुभसाइत गरिएको थियो ।
५३२ पृष्ठको ऐतिहासिक ग्रन्थ विद्यालोक धरान ग्रन्थलाई प्रमुख अतिथिसहित मञ्चासीन सबैले संयुक्त रुपमा लोकार्पण गरेका थिए । धरानको शैक्षिक इतिहासका बारेमा विशिष्ट अतिथि सुरेशकुमार शर्माले विस्तृत रुपमा आफ्नो वक्तव्यमार्फत प्रस्तुत गर्नुभएको थियो । खेमनाथ दाहालले पुस्तक प्रकाशनको क्रममा भएका कुराहरुलाई व्यक्त गर्नुभएको थियो ।
यसैगरी लोकार्पित विद्यालोक ग्रन्थको बिक्रिवितरणबाट जम्मा हुन गएको रकमलाई अक्षयकोष खडा गरी त्यसबाट हुने आम्दानी धरानस्थित सामुदायिक हाइस्कूलहरुमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गरिने कुरा दाहालले बताउनु भयो ।
प्रा.डा. कृष्णप्रसाद दाहाल र प्रा.डा. सजिता वर्माले ग्रन्थको विस्तृत समीक्षा गर्नुभएको थियो । त्यसगरी ग्रन्थको विवेचना गर्दै प्रा.डा. माधवप्रसाद पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै अभिनेत्री प्रियङ्का कार्की, इन्द्रमोहन झा, मञ्जु भण्डारी, राजेन्द्रकुमार भण्डारीलगायत मञ्चासीन विशेष अतिथिले ग्रन्थको महत्वका विवषयमा चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी प्रकाशक समूहका तर्फबाट अधिवक्ता देवीबहादुर घिमिरे, बलराम न्यौपाने आदिले ग्रन्थ प्रकाशनको बारेमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो । समारोहमा ग्रन्थका सम्पादक रमेश दाहाललाई नेपाली भाषा साहित्यको क्षेत्रमा पु¥याएको योगदानसहित विद्यालोक धरान ग्रन्थमा उनको कुशल सम्पादकत्वले ग्रन्थलाई उत्कृष्ट तुल्याएको कुराको प्रशंसा गर्दै स–सम्मान कदरपत्र अर्पण गरिएको थियो । कदरपत्र मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसालले वाचन गर्नुभएको थियो ।
समारोहमा प्रवेशिका परीक्षा समूह–२०२५ धरानका विद्यार्थीहरु डा. सरोज धिताल, महेश अग्रवाल, रामकुमार श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, आनन्द कार्कीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो । प्रा. डा. यज्ञश्वर निरौला, डा. बुनु दाहाल, डा. शान्तिमाया गिरी, साहित्यकार बिक्रमभक्त जोशी, लक्ष्मण सिटौला, गायिका ऋतु कँडेल, साहित्यकार पार्वती भट्टलगायतका साहित्यकारहरु, पत्रकारहरु, बुद्धिजीविहरु, उद्योगी व्यवसायी एवं आ–आफ्नो क्षेत्रमा स्वनामधन्य व्यक्तित्वहरुको उपस्थिति थियो । समारोहका सभापति हरिबहादुर कार्कीले धन्यवाद मन्तव्यसहित सभा विसर्जन गर्नुभएको थियो ।
धरान ग्रन्थको लोकार्पण
Facebook Comments Box
