काठमाडौं/ महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा.कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो ।
कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको श्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हव रहेको छ । गीतको भिडियो संगीतकार एवं गायक सन्तोषको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
मिलाप मासिकको आयोजना र चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रममा कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले कीर्तिमानी संगीतकार श्रेष्ठले साहित्यलाई संगीतसँग जोडर पृथक काम गर्दै आएको चर्चा गर्दै त्यसको पछिल्लो कडिका रूपमा श्वेतपत्र महाकाव्यको यो गीत रहेको बताउनुभयो । श्वेतपत्र महाकाव्यमा भएका श्लोकलाई गीतका रूपमा प्रस्तुत गर्नका लागि आफूले धेरै मिहिनेत गरेको सुनाउँदै संगीतकार तथा गायक श्रेष्ठले आफ्नो पृथक कार्य गर्ने शैलीलाई पछ्याउँदै जाँदा यो गीत तयार भएको जिकिर गर्नुभयो ।
उहाँले गजलकार घनेन्द्र ओझासँगको सहकार्यमा गजलको स्वर्ण दशक कार्यक्रम गरिरहेको जानकारी गराउँदै श्वेतपत्रबाट अन्य केही गीत पनि श्रोता÷दर्शकमाझ ल्याउने तयारीमा रहेको बताउनुभयो ।
महाकाव्यकार दाहालले श्वेतपत्र महाकाव्यको चर्चा गर्दै आफूले विभिन्न ठाउँ र परिवेशमा कतै वाही–वाही पाएको र कतै गाली खाएको बताउनुभयो । उहाँले भारतका केही ठाउँमा जाँदा यो कृतिका विषयमा अनावश्यक झण्झट बेहोर्नु परेको पनि सुनाउनुभयो । वरिष्ठ संगीतकार राजु सिंहले साहित्यलाई संगीतसँग जोडनु एकदमै राम्रो काम भएको भन्दा स्रष्टा सर्जकलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले नेपाली संगीत इतिहासको चर्चा गर्दा नयाँ–नयाँ प्रयोगले यस क्षेत्रलाई अझ समृद्ध तुल्याएको बताउनुभयो ।
श्वेतपत्रको परिचर्चा गर्दै साहित्यकार तथा पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा.अम्बिका अर्यालले कृतिले नेपाल, सिक्किम र भुटानलाई तीन दिदी बहिनीको संवादलाई प्रस्तुत गरेको बताउँदै यसको अझै चर्चा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महाकाव्यले व्यक्त गर्न खोजेको सन्देश राम्रो रहेको बताउँदै केही सुझावसमेत प्रस्तुत गर्नुभएको थियो ।
