साहित्यिक पत्रकार संघ ५४ वर्षमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ साहित्यिक पत्रकार सङ्घ (सापस) ले ५४ औं स्थापना दिवसको उपलक्ष्यमा पाँच जना विशिष्ट सिर्जनकर्मीहरूलाई अभिनन्दन गरेको छ । साउन २९ गते आयोजित एक विशेष कार्यक्रममा अभिनन्दन गरिएको हो ।
वरिष्ठ साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई अभिनन्दन गरिएको हो । कार्यक्रममा पत्रकार प्रविनप्रसाद थपलियालाई नगदसहित सम्मान पनि गरियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवम् प्रसिद्ध गीतकार एस्पी कोइराला कोइराला हुनुहुन्थ्यो । आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार एवं समाजसेवी शोभित उप्रेती, वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी., आख्यानकार हिरण्यकुमारी पाठकलगायतका महानुभावहरूले सो समर्पण गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि कोइरालाले साहित्यिक पत्रकार सङ्घले गर्दैआएको कामको प्रशंसा गर्दै यस प्रकारको कार्यक्रमले स्रष्टाहरूलाई अघि बढ्न सधैं प्रेरित गरिरहने बताउनु भयो । अभिनन्दित साहित्यकार पुष्कर लोहनीले आफूले २० को दशकदेखि कलम चलाउन थालेको स्मरण गर्दै यो अभिनन्दनलाई आफूले साहित्यिक क्षेत्रमा आफूले गरेको कामको मूल्याङ्कनको रूपमा लिएको उल्लेख गरे ।
पहिलो नायिका भुवन चन्दले कुनै पनि क्षेत्रको इतिहास लेख्दा सम्बन्धित व्यक्ति र योगदानकर्तालाई सोधेर बुझेर लेख्नुपर्नेमा जोड दिनुभयो । कलाकार एवम् कलासमीक्षक मुकेश मल्लले साहित्य र कलाबीच अन्योन्याश्रित सम्बन्ध रहेको धारणा प्रस्तुत गर्दै साहित्यिक क्षेत्रबाट भएको अभिनन्दनले आफूलाई भावुक बनाएको बताउनुभयो ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले अभिनन्दित पाँचैजना व्यक्तित्वको योगदानबारे विस्तृत चर्चा गर्नुभयो । अध्यक्षको आसनबाट आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले संस्थाले विभिन्न समयमा गरेका सिर्जनात्मक कामहरूको चर्चा गर्नुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *