काठमाडौं/ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा व्यापक सरुवा गरेका छन् । कर्मचारीहरुलाई समयावधि नपुग्दै गरिएको यो सरुवाले बजेट कार्यान्वयनमा प्रभाव पर्न सक्ने जानकारहरुले बताएका छन् ।
नेपाल राष्ट्र बैंक र विदेशी मुद्राको सञ्चिती राम्रो अवस्था देखिए पनि बजार एवं अर्थतन्त्र चलायमान बन्न नसक्दा जनताको दैनिकी कष्टकर बन्दै गैरहेको श्रोतले बताएको छ । अर्थमन्त्री पौडेलले गत साउन ३० गते १२ जना सहसचिवहरुको सरुवा गरेका थिए । जिम्मेवारी हेरफेर गरिएका सहसचिवहरुमा श्यामप्रसाद भण्डारी भन्सार विभाग लगायत रहेको बताइएको छ । यसैगरी सरुवा गर्ने क्रममा गत भदौ ४ गते ६८ जना उपसचिवहरुको पनि सरुवा गरी जिम्मेवारी तोकिएको छ ।
अवधि पुगेका ९० जना अधिकृतहरुको सरुवा गरी देशभरका कार्यालयहरुमा पदस्थापना गर्ने भएको छ । अर्थमन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुलाई मालदार अड्डाका रुपमा चिनिदै आएको छ । खासगरी कर र भन्सारलाई आकर्षक मानिने गरेको छ । अर्थमन्त्री पौडेलले सहसचिव, उपसचिव र अधिकृतहरुको सरुवामा आफैंले प्रत्यक्ष चासो राखेको जानकारहरुले बताएका छन् । यो सरुवा प्रकरणले अर्थतन्त्र र बजेट कार्यान्वयनलाई लाभ नपुगे पनि अर्थमन्त्री पौडेल र मन्त्रालयका उच्च पदस्थ पदाधिकारीहरुलाई फाइदा हुने चर्चा चलेको छ ।
यता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्माले पनि मन्त्रालय मातहतका प्राविधिक सहसचिवहरुको सरुवा गर्ने तयारी गरेको समाचार श्रोतले जानकारी दिएको छ । हाल मन्त्रालय मातहतका विभागमा २ वर्ष अवधि पुगेका ३ जना सुपरिटेन्डेन्ट इन्जिनियर (सु.ई) रहेका छन् । यसमा सडक निर्देशनालय एडीवीका चुडाराज ढकाल, पुल महाशाखाका ललिजन खनाल र संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय सूदूरपश्चिमाञ्चलका श्यामबहादुर खड्का रहेका छन् । जसमध्ये खड्कालाई विभागको संभार महाशाखामा सरुवा गरिएको छ । यसैगरी बनेपा धुलिखेल सडकका ज्ञानेन्द्रकुमार झालाई पश्चिमाञ्चल संघीय सडक अनुगमन तथा सुपरिवेक्षण कार्यालयमा पठाइएको छ । धुलिखेल सडकमा वरिष्ठ सिडिई विजय महतोलाई का.मू. बनाइएको छ ।
अर्थ र भौतिकमा सरुवा
Facebook Comments Box
