काठमाडौं/ अमेरिकाको सूचना प्रविधि कम्पनी ओरेकलका सह–संस्थापक ल्यारी एलिसन विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।
उनले स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कलाई पछि पार्दै विश्वका अर्बपतिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् । ब्लूम्बर्ग बिलेनिर्स इन्डेक्सका अनुसार बुधबार बिहान एलिसनको कूल सम्पत्ति बढेर ३ खर्ब ९३ अर्ब डलर पुगेको थियो । मस्कको सम्पत्ति चाहीँ ३ खर्ब ८५ अर्ब रहेकाले उनी सबैभन्दा धनीको कोटामा परेका हुन् ।
डेटाबेस सफ्टवेयर कम्पनी ओरेकल क्लाउड पूर्वाधार व्यवसाय र आर्टिफिसियल इन्टेलिजेन्सको व्यावसायिक सफलतासँगै कम्पनीको शेयरमा ४० प्रतिशत भन्दा धेरैले वृद्धि देखिएसँगै एलिसनको सम्पत्ति कीर्तिमानी विन्दुमा पुगेको बताइएको छ ।
बुधबारको अन्त्यसम्ममा एलिसनले पाएको सबैभन्दा धनी मान्छेको ताज टिक्न सकेन । कम्पनीको शेयरमा केही गिरावटसँगै उनको कूल सम्पत्ति समेत घट्यो र उनी पुनः एलन मस्कभन्दा तल झरे । ओरेकल कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि भइरहेको बेला मस्कको प्रमुख कम्पनी टेस्लाको शेयरमूल्यमा चाहीँ यो वर्षको शुरुदेखि नै गिरावट आइरहेको छ ।
उता डेटा सेन्टर पूर्वाधारको मागमा तिव्र वृद्धि भइरहेका कारण ओरेकलको व्यवसाय चम्किएको छ । मंगलबार कम्पनीले सार्वजनिक गरेको चौमासिक वित्तीय रिपोर्ट अनुसार यो वर्ष कम्पनीको क्लाउड व्यवसायमा ७७ प्रतिशतले वृद्धि भई १८ अर्ब डलर पुग्नेछ । आगामी वर्षहरुमा यो झनै बढ्ने अनुमान गरिएको छ ।
कम्पनीका अनुसार एआई कम्पनीहरुबाट उसका डेटा सेन्टरहरुको मागमा तिव्र वृद्धि भइरहेको हुँदा कम्पनीको शेयर मूल्य नाटकीय रुपमा उकालो लागिरहेको छ । कम्पनीले पछिल्लो चौमासिकमा डेटा सेन्टर पूर्वाधारको क्षेत्रमा विभिन्न कम्पनीहरुसँग अर्बौँ डलरको करार गरिसकेको छ ।
एलिसनको परिचय यत्तिमा मात्र सिमित छैन । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मित्र हुन् । गत जनवरीमा ट्रम्प राष्ट्रपतिको रुपमा दोश्रोपटक ह्वाइटहाउस फर्किँदा ओपन एआईका साम अल्टम्यान र सफ्टबैंकका मासेओशी सनसँगै एलिसन पनि देखिएका थिए र उनीहरुकै उपस्थितिमा स्टारगेट परियोजनाको घोषणा भएको थियो । सो परियोजना अमेरिकामा एआई पूर्वाधार निर्माणका लागि रहेको छ । (बीबीसीबाट)
एलिसन बने विश्वकै धनी व्यक्ति
Facebook Comments Box
