अस्ट्रेलियामा मिसेस नेपाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

अस्ट्रेलिया/ मिसेस नेपाल अस्ट्रेलिया २०२५ को फाइनल शनिबार अर्थात सेप्टेम्बर १३ मा अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न भएको छ । त्यसको ताज लीला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा दर्शकलाई प्रभावित गर्दै जितिन् ।
ताजसँगै उनले “एलीगेन्ट वाक” उपाधि, एक हजार अस्ट्रेलियन डलरको नगद पुरस्कार, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५० हजार रुपियाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन् । पहिलो रनर–अपको उपाधि सिवानी कट्टेलले हात पारिन् । उनले “कन्फिडेन्स” (आत्मविश्वास) पुरस्कार समेत जितिन् । उनले ६०० अस्ट्रेलियन डलर नगद, ३० हजार रुपियाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरेकी भनी आयोजकले जानकारी दिएका छन् ।
दोस्रो रनर–अप आश्मा (एश) चालिसे घोषित भइन् । उनले “ग्रेसफुल डीभा” (शालीन सुन्दरी) उपाधि जितिन् । उनलाई ४०० अस्ट्रेलियन डलर, २० हजार रुपियाँ बराबरको गिफ्ट ह्याम्पर र अन्य उपहारहरू प्रदान गरियो ।
विजेता लीला तिवारी पौडेल नेपालको बुटवल निवासी रहेकी बताइएको छ । उनी हाल मेलबर्न, भिक्टोरियाको मिकलह्याममा बसोबास गर्छिन् । पेसाले नर्स उनी आफ्नो पेसाप्रति गहिरो रुचि राख्छिन् । यस प्रतियोगिताको पहिलो संस्करणमा अस्ट्रेलियामा बसोबास गर्ने चौध जना नेपाली विवाहित महिलाहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगीहरूलाई विभिन्न उपाधिहरू मार्फत उनीहरूको उत्कृष्टतालाई सम्मान गरिएको थियो । आकृति सापकोटाले बोल्ड एण्ड ब्युटी, आरती सिंहले इन्टेलेक्चुअल, जमुना अधिकारी रिजालले कन्जेनियलिटी, निवा प्रजापति साहुखलले सोशल इम्प्याक्ट एण्ड एलिगेन्ट पर्सनालिटीको उपाधि हासिल गरेका थिए । यसैगरी सन्ध्या भट्टराईले हर्ट अफ गोल्ड, जस्मिन चौलागाईं ढकालले मिसेस पोइज, अनुजा मल्ल ढकालले ट्यालेन्ट, विद्या पनेरूले डिसिप्लिन, रश्मी अधिकारीले फोटोजेनिक, दीपा खनालले बेस्ट एटिच्युड र सरस्वती श्रेष्ठले फेसनिष्टा उपाधि हासिल गरेका थिए ।
कार्यक्रमलाई नेपालका फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले मार्गदर्शन, कोरियोग्राफी साथै कार्यक्रम सञ्चालन गरेका थिए । यस प्रतियोगितालाई हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अस्ट्रेलियाले आयोजना गरेको हो ।
अस्ट्रेलियामा भिक्टोरियाका लागि नेपालका मानार्थ वाणिज्यदूत नीराजन गौली मुख्य अतिथिका रूपमा उपस्थित थिए । मिसेस नेपाल अस्ट्रेलिया २०२५ ले विवाहित नेपाली महिलाहरूको क्षमता, आत्मविश्वास र सौन्दर्यलाई मात्र होइन, उनीहरूको संस्कृति र पहिचानलाई सम्मानका साथ विश्वभर उजागर गर्ने अवसर प्रदान गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *