अभिमन्यु दशैंको फूलपातिमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ चलचित्र ‘अभिमन्यु’ दशैंको फूलपातिका दिन प्रदर्शनी हुने भएको छ । असोज १३ मा नेपाली भाषामा र असोज १७ मा हिन्दी संस्करणमा प्रदर्शनीको तयारीमा यो चलचित्र रहेको बताइएको छ ।
निर्माता विनोद पौडेलले प्रचारप्रसारमा धेरै बजेट लगानी भैसकेको र दर्शकलाई लामो समय कुराउन नसकिने धारणा राखेका छन् । निर्माता कम्पनी सेभेन सिज चलचित्रले चलचित्र उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यले नयाँ प्रदर्शनी मिति घोषणा गरेको जनाएको छ ।
जेनजी आन्दोलनले रोकिएको चलचित्र ‘अभिमन्यु’ ले सोमबार विज्ञप्ति जारी गर्दै दशैंको फूलपातिमा १३ असोजमा रिलिज हुने जनाएको हो । ‘देशमा भएको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर हाम्रो चलचित्र उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यका साथ हामीले नयाँ प्रदर्शनी मिति घोषणा गरेका छौँ ।’ भनी निर्माता पक्षले जानकारी गराएको छ । हिन्दी संस्करण भारतसहित विश्वव्यापी प्रदर्शन हुने जनाइएको छ ।
यो चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल शीर्ष भूमिकामा छन् । सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु ः च्याप्टर १’ को क्रिएटिभ निर्देशक मदन थापा हुन् । निर्माता पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
फूलपातीमा अन्य चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ पनि प्रदर्शनीको तयारीमा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *