लीलानाथ घिमिरे
काठमाडौँ/ नेपाली सांगीतिक इतिहासमा अमर बनेको गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार, मा¥यो नी मायाले मा¥यो …..’ ले ४६ वर्षपछि नयाँ स्वरूपमा पुनर्जन्म पाएको छ ।
यो कालजयी गीतले सिन्धुलीगढीको ऐतिहासिक र सांस्कृतिक महत्वलाई देशव्यापी चिनाएको छ । सर्जक कृष्णविक्रम थापाका जेठा छोरा राजु थापाको श्वरमा म्युजिक नेपालमार्फत युट्युबमा यो गीतको पछिल्लो संस्करण सार्वजनिक भएको छ । रिमेक भिडियोमा सिन्धुलीका रमणीय दृश्यहरू, गढी, दरबार र कृष्णविक्रमको सालिक समेटिएका बताइएको छ । यसले नयाँ पुस्तालाई यो ऐतिहासिक स्थल र गीतको सांस्कृतिक धरोहरसँग जोड्ने अपेक्षा गरिएको छ ।
‘सिन्धुली गढी घुमेर हेर्दा’ २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । यो गीत कृष्णविक्रम थापाको शब्द, सङ्गीत र श्वरमा तयार भएको बताइएको छ । रेडियो नेपालको गीत प्रतियोगितामा यसले पहिलो पुरस्कार जित्न सफल भएको थियो । सिन्धुलीगढी वीर गोर्खालीहरूले १८२४ मा अङ्ग्रेज फौजलाई परास्त गरेको ऐतिहासिक स्थल हो, यो गीतमार्फत आम नेपालीको जिब्रोमा झुण्डिएको छ ।
यो गीतले सिन्धुलीगढीको ऐतिहासिक महत्वमात्र होइन, त्यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरलाई पनि उजागर गरेकोे छ । गीतको बोलले सिन्धुलीगढीको रमणीय दृश्य, सुन्तलीगढी दरबार र त्यहाँको वातावरणलाई जीवन्त बनाएको छ । सिन्धुलीगढी, जहाँ गोर्खाली सेनाले वंशु गुरुङको नेतृत्वमा अङ्ग्रेज कम्तान किनलकको फौजलाई बुद्धि र रणनीतिले हराएको थियो, यो गीतले नेपाली वीरताको कथा बोकेको छ ।
सिन्धुलीको दुर्गम गाउँमा जन्मिएका कृष्णविक्रम थापाले रेडियो नेपालसम्म पुगेर यो कालजयी गीत रेकर्ड गर्न सफल भएका थिए । उनी आफ्नो समयका विन्दास व्यक्तित्व मानिन्छन् । उनको पारिवारिक जीवन सङ्घर्षमय थियो । परिवार पाल्न ठूलो सङ्घर्ष गर्नुपर्ने अवस्थाले उनका सन्तानसमेत सङ्गीततर्फ आकर्षित भएनन् । राजुले जीवन धान्न कहिले नेपालभित्र त कहिले भारतमा मजदूरी गरे । सङ्गीतमा औपचारिक शिक्षा वा अनुभव नभए पनि उनले आफ्ना बाबुको साङ्गीतिक विरासतलाई जोगाउने सपना भने देखेको बताइएको छ ।
कृष्णविक्रमका गीतहरू, जस्तै ‘सातै डाँडा काटेर….’, ‘शहरकी चेली गाउँघरमा आइछन्……’, ‘साँघुटार बजारकी साइँली र माइली……’, ‘चौतारी छाया बसौँ बसौँ लाग्छ…….’, ‘तोरी लाहुरे’ र ‘खैंजेडी भजन’, रेडियो नेपालमा रेकर्ड भएका थिए । ती अधिकांश चर्चित छन् । यी गीतहरूले नेपाली लोकसङ्गीतको समृद्ध इतिहास बोकेका छन् । समयसँगै यी गीतहरू हराउने जोखिममा थिए । राजुले यी गीतहरूको संरक्षण गर्ने अठोट लिए ।
राजुको सङ्गीतप्रतिको यात्रा २०८१ माघ १ मा सिन्धुलीमाढीमा ब्रदरहुड इभेन्ट्सले आयोजना गरेको कन्सर्टबाट शुरु भएको बताइन्छ । उनले आयोजकलाई आफ्ना बाबुको गीत गाउने प्रस्ताव राख्दा आयोजकले उनलाई अवसर दिए । दर्शकहरूको हुटिङ र उत्साहले उनलाई हौसला प्रदान ग¥यो। त्यसअघि ‘कृष्णविक्रमको छोरा’ भनेर मात्र चिनिएका राजुले यसपछि आफ्नो छुट्टै पहिचान बनाउने सपना देखे । उनले बाबुका गीतहरू खोज्न रेडियो नेपाल पुगे, जहाँ उनले म्युजिक नेपालले ‘सिन्धुली गढी घुमेर हेर्दा……’ को प्रतिलिपि अधिकार लिएको थाहा पाए ।
म्युजिक नेपालसँगको सहकार्यमा राजुले यो गीत रिमेक गर्ने अवसर पाएको बताइएको छ । सङ्गीतको औपचारिक शिक्षा नभए पनि उनले बाबुको सिर्जनालाई न्याय गर्ने अठोट लिएका बताइन्छ । स्टुडियोमा रेकर्डिङका लागि उनले कामबाट विदा लिएका थिए । आश्चर्यजनक रूपमा उनको रेकर्डिङ २–३ टेकमै पूरा भयो । “एउटा गीत गाउन घण्टौँ लाग्छ भन्ने सुनेको थिएँ, तर मेरो रेकर्डिङ छिट्टै सकियो,” राजुले उत्साहित हुँदै भने । रुविन श्रेष्ठले गीतको पुनः संयोजन गरे, जसले यो कालजयी सिर्जनालाई आधुनिक स्वरूप दिएको बताइन्छ ।
