कौशल कुमार भट्टराई
पाठकवृन्द, म यस ‘नयाँ विमर्श’ को सम्पादक÷प्रकाशक हुँ । यसरी पत्रिका प्रकाशन गर्ने क्रमलाई हिसाब गर्ने हो भने यो पत्रिकाको यात्रा पनि १९ बर्ष पुगी सकेको छ । अहिले २० वर्षको यात्रामा रहेको पत्रिकामा विभिन्न लेख, समाचार तथा सम्पादकीय लेख्दै आएको छु । त्यसो त सम्पादक÷प्रकाशक भएका नाताले लेख्नु मेरो धर्म नै हो । त्यसैले आगामी अंकदेखि यो स्तम्भ अन्तर्गत रहेर विभिन्न विषयबस्तुहरुलाई केलाएर नियमित रुपमा लेख लेख्ने सोचाइ बनाएको छु ।
यो स्तम्भ अन्तर्गत विभिन्न विषयहरुलाई सकेसम्म तथ्यपरक ढंगबाट प्रस्तुत गर्नेछु । यसैगरी आवश्यक तथ्यांक, विवरण, विज्ञहरुको भनाइ तथा आवश्यक विश्लेषण पनि गर्ने नै छु । यसरी लेख्ने कुराहरु विशेषत विभिन्न विषयसँग सम्बन्धित हुने गरी लेख्नेछु । ती विषयहरुलाई सरकार तथा अन्य सरोकारवाला निकायहरुले मनन् गरी नीति निर्माणमा समेत उपयोगी बनाउने प्रयास मेरो रहने छ ।
यसरी प्रकाशित हुने लेखहरुमा कहिले विषयबस्तु गम्भीर खालका हुन सक्ने त कहिले सामान्य देखिने खालका पनि हुन सक्ने हुनसक्छन् । भोलिका दिनमा प्रसंगबस उठाइने कुराहरुलाई समेटेर आगामी वर्ष अर्थात पत्रिकाले २० वर्ष प्रवेश गर्दासम्मको अवधिमा लेखिएका लेखहरुको संगालो बनाई आगामी वर्ष त्यसलाई कृतिको रुपमा प्रकाशन गर्ने सोच पनि लिएको छु । विगतमा समाचार, सम्पादकीय तथा मुख्य समाचारहरु मात्र लेखिएको अवस्थालाई मैले बालुवाको अक्षरको रुपमा लिएको छु ।
बालुवाको अक्षर यस अर्थमा कि त्यसरी लेखिने लेख, समाचार, सम्पादकीयको महत्व सामान्यतया एक सातामात्र रहने गरेको हुन्छ । त्यसैले जसरी नदी किनारामा बालुवाले लेख्दा त्यसलाई नदीको पानीको मात्रा बढ्नासाथ बगाएर लैजान्छ, त्यसैगरी साताभरीमै ती कुरा बगेर जाने अनुभव मेरो रहेकाले मैले बालुवाको अक्षर भनेको हुँ ।
यसविपरित त्यसरी लेखिएका लेखहरुलाई संग्रहित गर्न सकिएमा त्यसले कृतिको रुप धारण गर्न सक्ने अवस्था रहन्छ । त्यसरी कृतिको रुपमा अर्थात किताबको रुपमा त्यसलाई प्रकाशन गर्न सकेको खण्डमा त्यसले ढुंगाको अक्षरको रुप पाउने मेरो बुझाइ रहेको छ । जसरी नदी किनारामा कुनै ठूलो ढुंगामा लेखियो भने नदीको बहाव बढ्नासाथ त्यो पनि बालुवाको अक्षर जस्तो बगेर जाने संभावना कमै रहने हुन्छ । त्यसैले पनि पत्रिकामा प्रकाशन गरिएका बालुवाका अक्षर रुपी लेखहरुलाई समेटेर कृतिको रुपमा अर्थात ढुंगाको अक्षरका रुपमा ल्याउने प्रयास मेरो रहने छ ।
यसरी अबका अंकबाट नियमित रुपमा मेरो लेखहरु यही स्थानमा यही स्तम्भमा आउँदा पाठक वर्गले उचित सल्लाह र लेखका लागि विषयबस्तुका लागि मलाई घच्घच्याउनु हुने नै छ भन्ने आशा पनि लिएको छु । यसैगरी प्रतिक्रिया पाएको खण्डमा थप लेख्न प्रोत्साहन मिल्ने पनि हुन्छ । आफूले लेखेका कुराहरुको सही प्रतिक्रिया नियमित रुपमा पाइएमा आफ्नो लेखनशैलीमा परिमार्जन गर्न पनि सहयोग पुग्ने आशा गरेको पनि छु ।
मैले लेख्ने विषयबस्तुहरुमा मुख्य त नीतिगत सुधारका लागि उपयोगी हुने विषयबस्तु बनाउने प्रयास मेरो रहने छ । यसैगरी कहिलेकाहीँ अन्य विषयबस्तु पनि पर्न सक्ने हुन्छन् । कतिपय अवस्थामा राजनीतिक विषयबस्तुलाई पनि लेखको विषयबस्तु बनाउनु पर्ने हुनसक्छ । मलाई लागेका विषयमा मैले मेरै शैलीमा लेखिरहेको अवस्थामा पाठकवर्गमा सुझाव सल्लाह पाएका खण्डमा उहाँहरुले चाहेका विषयहरुमा समेत मैले कलम चलाउने जमर्को गर्ने नै छु ।
