लिची खाने मन्त्री र सचिव तानिँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ पोखरा महानगरपालिका–१६ स्थित लिची बगैंचाको १३५ रोपनी जग्गा हडप्ने प्रकरणमा पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ र सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाइसकेको छ । मन्त्रीद्वय श्रेष्ठ र गुप्तासहित ७ जनालाई अख्तियारले मुद्दा दर्ता गरे पनि ३२ लाख रुपियाँ विचौलिया सुजन लामाले मन्त्री बलराम अधिकारीका छोरा मनोज अधिकारीलाई बुझाएको अडियो सार्वजनिक भएको थियो ।
नेकपा (एमाले) का अध्यक्ष एवं तात्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको आशीर्वादबाट जोगिएका मन्त्री अधिकारीलाई हाल अनुसन्धान भैरहेको र अनुसन्धान सकेपछि मुद्दा दर्ता हुने श्रोतले बताएको छ । लिची बगैंचाको जग्गाको लागि तात्कालिन सचिव अर्जुन पोखरेलले ५ लाख रुपियाँ र बन कुखुरासहित १० हजार बराबरका सामान किनिदिएको भन्ने अडियोमा सुनिएपछि उनी पनि अनुसन्धानको दायरामा तानिएका छन् । मन्त्री अधिकारीले २०८१ र २०८२ को कर्मचारीहरुको सरुवा गर्दा मालपोत कार्यालय र नापी कार्यालयका आकर्षक ठाउँमा जाने कर्मचारीहरुका लागि रु.५० लाखसम्म दर तोकी महानिर्देशकहरुमार्फत रकम बुझेको चर्चा अहिले सिंहदरबारभित्र गाईगुईं सुन्न पाइन्छ ।
२०८१ को सरुवामा तात्कालीन सापकोटा थरका महानिर्देशकले सरुवामा करोडौं रकम झ्वाम पारेपछि छानविन आयोग नै बनेको समाचार श्रोतले बताएको छ । यसरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई भुँडी सुधार मन्त्रालयमा परिणत गरेका मालपोत र नापीका भ्रष्ट कर्मचारीहरुलाई जेन–जी बलमा स्थापित भएको सरकारले नखोज्ने हो र भ्रष्टहरुमाथि छानविन नगर्ने हो भने ‘जुन जोगी आए पनि कानै चिरेको’ साबित हुने जानकारहरुले बताएका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *