इनरुवा/ सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा आयोजित चौथो राष्ट्रिय थारु फिल्म तथा सांस्कृतिक महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त महोत्सवले थारु समुदायको कला, संस्कृति र चलचित्र क्षेत्रको प्रवद्र्धनमा विशेष योगदान पु¥याएको बताइएको छ ।
महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । पहिलो दिन थारु भाषाको पहिलो टेलिफिल्म ‘जित्त भुत’ का लेखक तथा निर्देशक सागर ढुंगेललाई सम्मान गरिएको थियो । यसैगरी संगीतकार फणिन्द्र सुवेदी, कलाकार दिनेश कोइराला, मोडल गणेशबहादुर राउत आर्यन, गायक रामा मण्डल, संगीतकर्मी लालबहादुर चौधरी, निर्माता लाखमान योञ्जन र भीम लामा तथा गायक सत्यनारायण चौधरीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा थारु फिल्महरू प्रदर्शन गरिएका थिए । सांस्कृतिक झाँकी, थारु नृत्य प्रतियोगिता, तथा झाँकी प्रदर्शनीले कार्यक्रमलाई थप रंगीन बनाएको बताइएको छ । झाँकी प्रदर्शनीमा जब्दी टोल विकास समिति, रामधुनी–१ ले उत्कृष्ट प्रदर्शनी गर्दै नगद ५० हजार रुपियाँ जितेको थियो । नृत्य प्रतियोगितामा ‘रियालिटी क्रु’ ले प्रथम स्थान हात पार्दै १० हजार रुपियाँ प्राप्त ग¥यो । द्वितीय स्थानमा ‘भर्सटायल डान्स ग्रुप’ (सात हजार नगद) र तृतीय स्थानमा ‘एसडी क्रिएसन’ (पाँच हजार नगद) रहेका थिए ।
नयाँ पुस्ताका थारु कलाकारहरूले प्रस्तुत गरेका नृत्य र सांस्कृतिक कार्यक्रमले उपस्थित दर्शकहरूको मन जितेको थियो । कार्यक्रम थारु फिल्म तथा सांस्कृतिक संघ केन्द्रीय समिति तथा मोरङ र सुनसरी समितिको सहकार्यमा आयोजना गरिएको थियो ।
