‘नयाँ विमर्श’ ‘क’ वर्गमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ ‘नयाँ विमर्श’ साप्ताहिक प्रेस काउन्सिल नेपालको वर्गीकरणमा ‘क’ वर्गमा परेको छ । काउन्सिलको पछिल्लो वर्गीकरणमा ‘क’ वर्गमा पर्नुमा पाठक, विज्ञापनदाता तथा पत्रिकामा आवद्ध सञ्चारकर्मीहरुको योगदान रहेको भनी सबैलाई पत्रिकाका तर्फबाट धन्यवाद दिइएको छ ।
पत्रिकाका सम्पादक÷ प्रकाशक कौशल कुमार भट्टराईले एक प्रेस नोट जारी गर्दै सरोकारवाला सबैलाई धन्यवाद दिनुभएको हो । प्रेस नोटमा ‘लोकतन्त्र तथा जनताको पक्षमा आवाज उठाउँदै आएको हाम्रो पत्रिकाकालागि जुन योग्य वर्गीकरण हो, त्यही पर्नु सही हो । कागजी अखबारहरुको बजार खस्किँदै गएको अवस्थामा पनि हाम्रो पत्रिका रंगीन कलेबरमा छापिएर बजारमा प्रतिस्पर्धामा उत्रिएको छ । यस्तो अवस्थामा पाठक, विज्ञापनदाता तथा सञ्चारकर्मी सहकर्मीहरुको योगदान तथा साथले हामीलाई पछि नहट्न हौसला प्रदान गरिरहेको छ ।’ भनिएको छ ।
पत्रिका १९ वर्षदेखि नियमित रुपमा प्रकाशन भैरहेको कुरालाई पनि सम्पादक÷प्रकाशक भट्टराईले गौरवको रुपमा लिनुभएको छ । ‘डिजिटल’ युगमा कागजी पत्रिका निकाल्नु कम चुनौतिपूर्ण कार्य होइन, तर पनि सोही कार्यलाई पच्छ्याउँदै गएका छौं भनी प्रेस नोटमा उहाँले उल्लेख गर्नुभएको छ । पत्रिका प्रकाशन गर्दा विश्वनीय स्रोतमा भर पर्ने गरेका कारण पनि कहिले पनि पत्रिकाले आचारसंहिता उल्लंघन गरेको भनी उजुरी नपर्नुलाई पनि ‘नयाँ विमर्श’ परिवारले गौरवको रुपमा लिएको भनी भट्टराईले उल्लेख गर्नुभएको छ ।
यस क्रममा सम्पादककै भूमिकामा रहनुभएका कृष्ण लम्साल, कार्यकारी सम्पादक पिएमणि भट्टराई, वरिष्ठ संवाददाता राजु अर्याल, कानूनी सल्लाहकार हरिशरण जमकटेललगायतको योगदानलाई पनि सम्पादक÷प्रकाशक भट्टराईले स्मरण गर्नुभएको छ । यसैगरी अन्तर्राष्ट्रिय समाचार संयोजनमा सहयोग गर्ने स्पन्दन भट्टराई, पत्रिकाको डिजायन गर्ने रोशन ज्ञवाली, वेव साइटको व्यवस्थापन गर्ने जे.बी.पुरीलगायतलाई धन्यवाद दिइएको छ ।
यसैगरी सरकारी तथा निजीस्तरका विज्ञापन उपलब्ध गराउने सबै निकायहरुलाई धन्यवाद दिँदै उहाँहरुको योगदानको लागि पत्रिकाले सम्मानपत्र नै दिने जानकारी पनि गराइएको छ । यसैगरी नियमित रुपमा लेखहरु उपलब्ध गराउने सहप्राध्यापक गम्भीरबहादुर हाडा, साहित्यिक स्तम्भका लागि साहित्यपोष्ट डटकमका सम्पादक अश्विनी कोइराला लगायतको योगदान स्मरण गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *