भक्तपुर/ बौद्ध धर्मावलम्वीहरूले दानमध्येको महादान मानिने ‘सम्यक दान पर्व’ हर्षोल्लासका साथ भक्तपुरमा हिजो मनाए । नेपाल संवत् ७८७ भन्दा अघिदेखि नै प्रत्येक वर्ष माघ १ गतेका दिन मनाइँदै आएको यो ऐतिहासिक र धार्मिक पर्व हो । भक्तपुरमा यस वर्ष करिब दुई हजार भिक्षुहरूलाई महादान गरिएको बताइएको छ ।
पर्वको अवसरमा पाँच दीपङ्कर बुद्धका मूर्तिहरूलाई भक्तपुर नगरको परिक्रमा गराइएको थियो । परिक्रमापछि ती मूर्तिहरूलाई भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा मध्याह्नको समयमा ल्याएर बौद्ध परम्पराअनुसार सम्यक महादान कार्य गरियो । दीपङ्कर बुद्धका मूर्तिहरूलाई थथुबहीमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्य भिक्षुहरूलाई प्रसाद, चामल, दक्षिणा र विभिन्न परिकारहरू दान दिने परम्परा रहेको छ ।
सम्यक महादानमा गेँडागुडीका विभिन्न परिकारहरू जस्तै गोमाय, बालामाय, कसु, मुस्या र सागसब्जीका दर्जनौँ स्वादिला परिकारहरू बनाएर चढाउने प्रचलन रहेको स्थानीय मन काँशु बताउनु हुन्छ । लड्डु, पुरी, घ्योचाक, चतामरी जस्ता मिठाई र पक्वान्नहरू पनि दान गरिने गरिएको बताइएको छ । ऐतिहासिक शिलापत्र अनुसार जयरत्न बज्राचार्यले आफ्ना दिवंगत पिता जयदेवको सम्झनामा नेपाल संवत् ७८७ मा विभिन्न विहारका भिक्षुहरूलाई निमन्त्रणा गरेर यो पर्वको जग बसाल्नु भएको थियो ।
यस वर्ष दान दिने पालो चिनियाकाजी बज्राचार्य परिवारको रहेको थियो । यो पर्वलाई भव्य रूपमा सम्पन्न गर्न उहाँको परिवार र व्यवस्थापन समिति एक सातादेखि जयकीर्ति महाविहारमा आवश्यक सामग्री जुटाउन व्यस्त रहेको थियो । दानको शुरुमा चतुब्र्रम्ह महाविहार सङ्घका कुलदेवता हेबज नैरात्मालाई भोजन दान दिइन्छ । त्यसपछि क्रमबद्ध रूपमा विभिन्न स्थानका दीपङ्कर बुद्ध, सुवर्ण चैत्य र लामवद्ध भएर बसेका सयौँ बज्राचार्य तथा शाक्यहरूलाई दान दिने प्रचलन छ ।
‘सम्यक दान पर्व’ भक्तपुरमा
Facebook Comments Box
