बुटवलको मेयरमा पाण्डे सर्वसम्मत

Nayabimarsha (Weekly Newspaper from Nepal)

बुटवल | सत्तारुढ दलहरुको गठबन्धनले कुन कुन स्थानीय तह कसले लिने भनी निक्र्यौल गर्दै गरेको अवस्थामा नेपाली कांग्रेसले बुटवल उप–महानगरपालिकाको प्रमुख पाउने भन्ने समहति जुटेको समाचार बाहिर आएको छ । त्यसैले यस उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसले कसलाई अघि सार्ला भन्ने कुरालाई चासोका साथ हेर्न थालिएको छ ।

यस क्रममा कांग्रेसले खेलराज पाण्डेलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेका कारण अन्य दललाई समेत सहज भएको छ । कांग्रेसको बुटवल उप–महानगर कार्यसमितिको बैठकले पाण्डेको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । सो पदका लागि हरि लम्साल, महेशमान सिंहलगायतले पनि आकांक्षा राखेका भए पनि सर्वसम्मतिका रुपमा पाण्डेलाई अघि सार्ने निर्णयमा नेताहरु पुगेका थिए । पाण्डे कांग्रेसका नगर सभापति पनि हुन् । उनी अघिल्लो स्थानीय चुनावमा नेकपा (एमाले) का शिवराज सुवेदीसँग करिब दुई हजार चार सय मतान्तरले पराजित भएका थिए । उता, उप–प्रमुखमा पनि कांग्रेसले नामहरु सिफारिस गरेको छ । यसरी सिफारिसमा परेकाहरुमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रीता के.सी., रीता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवाली रहेका छन् । गठबन्धनको भागवण्डा मिलाउने क्रममा उप प्रमुख पद भने अन्य दललाई दिनुपर्ने हुन सक्ने भएकाले यी सिफारिस भएका व्यक्तिहरुले यस पटकलाई भने चित्त बुझाएर बस्नुपर्ने हुन सक्ने चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *