यस्तो छ निर्वाचन तालिका

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर l आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लिएर विभिन्न गतिविधि भैरहेका छन् । राजनीतिक दलहरु निर्वाचनमा होमिएको यो बेला निर्वाचनको तालिका के कस्तो छ भनी आम समुदायमा चासो छाएको अवस्था छ ।

स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार बैशाख ११ देखि १२ गतेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । यसरी दुई दिनको समय दिइए पनि मनोनयन दर्ताका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । त्यस्तै १२ गते नै साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

यसैगरी उम्मेदवारीको विरोधमा उजुरी दिने महत्वपूर्ण कार्यका लागि भने त्यसको भोलिपल्ट अर्थात बैशाख १३ गतेको दिन तोकिएको छ । यसरी उक्त दिन बिहान १० बजेदेखि ५ बजेसम्म विरोधमा उजुरी दिन सकिने बताइएको छ । यस्तै, बैशाख १४ देखि १५ गतेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय तोकिएको भनी आयोगले जनाएको छ ।

यसरी योग्य ठानिएका उम्मेदवारहरुको नामावली भने बैशाख १५ गते प्रकाशन गर्ने कार्य तालिका रहेको छ । यसरी नामावली प्रकाशन भएपछि कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा त्यसका लागि बैशाख १६ गतेको दिन तोकिएको छ । कसैले उम्मेदवारी फिर्ता लिएका खण्डमा त्यसलाई अभिलेख गरी सोही दिन अर्थात १६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

यसरी उम्मेदवार बन्ने सौभाग्य पाएकाहरुलाई निर्वाचनको चिन्ह भने त्यसको भोलिपल्ट अर्थात बैशाख १७ गते दिइने व्यवस्था मिलाइएको छ । त्यसरी उम्मेदवारी दिएका व्यक्तिहरुले आफ्नो निर्वाचन चिन्ह सहित प्रचार प्रसारमा निस्कने पाउने अवस्था रहन्छ । राजनीतिक दलहरुका उम्मेदवारहरुले भने आफ्नो दलको चिन्हको प्रयोग गर्दै आए पनि स्वतन्त्र उम्मेदवारहरुले भने चिन्ह पाएपछि मात्रै आधिकारिक रुपमा प्रचार गर्न पाउने रहने छ । यसैगरी आयोगले मौन अवधि बैशाख २७ गते राति १२ बजेबाट लागू हुने जनाइएको छ । यसरी बैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका आयोगले राखेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *