को को प्रवेश गरे कांग्रेसमा ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

हेटौंडा l निर्वाचनको मुखमा विभिन्न दलमा प्रवेश तथा दल त्यागका समाचारहरु नौला नभएको अवस्था छ । यसरी प्रवेश गर्नेहरुमा कतिपय स्थानमा उम्मेदवार नै अर्को दलमा प्रवेश गर्नेसम्मका कार्यहरु भैरहेको अवस्था छ । यस्ता समाचारहरु आइरहेको अवस्थामा दल प्रवेश गर्नेहरुले नेपाली कांग्रेसलाई पनि उच्च प्राथमिकतामा राख्ने गरेको पाइएको छ ।

पछिल्लो समय कांग्रेसमा नेपाली सिने जगतका सदाबहार नायक भुवन के.सी. लगायतका चर्चित कलाकारहरुले प्रवेश गरे । के.सी.सँगै नायिका श्वेता खड्का र रविन्द्र खड्काले पनि कांग्रेसको सभापति शेरबहादुर देउवाको हातबाट कांग्रेसको सदस्यता लिए ।

यसरी कलाकारहरु कांग्रेसमा प्रवेश गरेको अवस्थामा सर्लाहीमा भने नेकपा (माओवादी केन्द्र) त्यागेर ९२ जना नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । लालबन्दी –२ मा वडा सदस्य उम्मेदवार बनेका श्री प्रसाद पासवानको नेतृत्वमा ५२ जना र अर्का नेता रविन पासवानको नेतृत्वमा ४० जना गरी ९२ जना माओवादी केन्द्र परित्याग गरी कांग्रेसमा प्रवेश गरेको सर्लाही कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवेशसँगै वडा सदस्य पदमा उम्मेदवार समेत रहेका श्री प्रसाद पासवानले आफ्नो उम्मेदवारीको मतलब नरहेको भन्दै कांग्रेसले वडाहुँदै नगरमा जितको सुनिश्चितता खोजेको बताए । उनीहरुलाई पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, स्थानीय नेताहरू, जिल्लाका नेताहरू र नगर प्रमुख उम्मेदवार वासुदेव अधिकारी, उपप्रमुखका उम्मेदवार कल्पना पाख्रिनले टीका लगाई कांग्रेस प्रवेश गराएको सीताराम दाहालले जानकारी दिएका छन् ।

उता, डोटीमा वडाध्यक्षका उम्मेदवार कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र ) बाट वडाध्यक्षमा उम्मेदवारी दिएर चुनाव प्रचार प्रसारमा रहेका शिखर नगरपालिका– ११ का उम्मेदवार शेर बहादुर बलायर बुधबार कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले टीका लगाएर स्वागत गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *