सडकको नयाँ डीजीमा थापा कि नेपाल ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ l भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागका महानिर्देशक शिवहरि सापकोटा ५८ वर्ष उमेर हदका कारण गत २०७९ बैशाख १८ गते सेवानिवृत्त भएका छन् । कुनै पनि लोभलालच र पैसाको पछि नलागी हुने कामलाई हुने र नहुने कामलाई नहुने भनी कसैको दबाबमा नपरी चार महिने कार्यकाल बिताएका सापकोटालाई २०७९ बैशाख १९ गते विदाई गरिएको छ ।

केशवकुमार शर्मापछि सापकोटा डीजी बनेको भए विभागले काँचुली फेर्ने र सिष्टम बस्ने विभागका कर्मचारीहरूले बताएका छन् । सापकोटाको अवकाशपछि मात्र अर्जुनजङ्ग थापा डीजी बनेको भए सडकको संगठन राम्रो बन्ने थियो भन्ने कर्मचारीको गुनासो थियो ।

सापकोटाको अवकाशपछि विभागको नेतृत्व निमित्तका रूपमा योजना महाशाखा एवं प्रवक्ता शिव नेपालले सम्हाल्ने छन् । वरिष्ठताको हिसाबले हाल उत्तर—दक्षिण करिडोर आयोजना प्रमुख दीपक श्रेष्ठ विभागको डीजी बन्नुपर्ने हो, उनी २०४७ सालका इन्जिनियर हुन् । तर, चार महिनापछि सेवा निवृत्त हुने भएकाले श्रेष्ठले डीजी बन्न रुचि नराखेको जानकारहरूले बताएका छन् । निःशुल्क डीजी नबन्ने भएकाले श्रेष्ठले वास्ता नगरेको चर्चा चलेको छ । उता स्रोत, साधन र शक्ति भएर पनि एडीबी निर्देशनालयका आयोजना प्रमुख सुशीलबाबु ढकाल अहिले डीजी बनेर पछि मन्त्रालय कुर्नुभन्दा हतार नगरी आउने र रमाउने सोचमा रहेका छन् । मन्त्रालयका बैदेशिक महाशाखा प्रमुख केशवकुमार शर्माको जागिर अवधि तीन वर्ष भएकाले विभागतिर फर्कनुभन्दा सचिव बन्नेतिर जोडतोडका साथ लागिपरेका छन् । विभागमा बसेर दुई आ.व.मा शर्माले राम्रै आयआर्जन गरेको जनकारहरूले बताएका छन् । शर्मा आगामी २०८२ चैत्र ९ गते अनिवार्य अवकाश हुँदैछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पर्ने रेल विभागका महानिर्देशक दीपक भट्टराई आगामी २०७९ श्रावण १८ गते र सडक विभागका सुपरिटेण्डेन्ट इञ्जिनियर (सु.ई.) हरू दीपक श्रेष्ठ २०७९ भदौ १९, कैलाश श्रेष्ठ २०७९ असोज ६ र अशोक तिवारी २०७९ फागुन २२ गते सरकारी जागिरको भारी बिसाउँदै छन् ।

यस्तो अवस्थामा विभागमा विभागको नेतृत्व सम्हाल्नेमा अर्जुनजंग थापा र शिव नेपालमध्ये कसले बाजी मार्लान् भन्ने व्यापक चर्चा र चासो बढेको छ । थापाले १० महिना सडक विभागको महानिर्देशक बन्दा परेको घाउ निको पार्न फेरि विभागको नेतृत्व सम्हाल्न इच्छा प्रकट गरेका छन् । थापा २०८० कार्तिक ६ गते सेना निवृत्त हुँदैछन् भने शिव नेपाल २०८० जेट २६ अर्थात् एक वर्षपछि । थापा झ्वाँकी र आँखा चिम्लेर काम गर्ने हक्की स्वभाव भएका व्यक्ति हुन् भने नेपाल नियम, कानूनका पालक एवं कसैको दबाबमा नपर्ने निष्ठावान् सु.ई. यी दुईजनामध्ये मन्त्री रेणुकुमारी यादवले कसलाई र कसरी पठाउने छन्, त्यसको लागि केही समय कुर्नुपर्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *