मध्यपुरमा काँग्रेसलाई चुनावको चटारो

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर । भक्तपुर जिल्लाका चारवटा नगरपालिकाहरूमध्ये तीनवटामा गठबन्धन गरी काँग्रेस चुनावी मैदानमा होमिएको छ । काँग्रेसको गढ भनेर चिनिएको मध्यपुर थिमी नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा प्रमख पदमा नेकपा (एमाले) का मदनसुन्दर श्रेष्ठले बाजी मारेपछि यस पटक काँग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन बनेको हो ।

मध्यपुर थिमी न.पा.मा जसपा र राष्ट्रिय जनमोर्चाको प्रभाव छैन । गठबन्धनबाट मध्यपुर थिमीको नगरप्रमुखमा काँग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा माओवादी केन्द्रका विजय श्रेष्ठ उम्मेदवार बनेका छन् । त्यसैगरी, नेकपा एमालेले मदनसुन्दर श्रेष्ठलाई नै प्रमुख र उत्तरा नेपाललाई उप्रमुखमा उम्मेदवार बनाएको छ ।

काँग्रेसीहरूको बाहुल्यता रहेको मध्यपुर थिमी ३ नम्बर वडामा काँग्रेसका तर्पmबाट शिक्षित र क्षमतावान् कृष्णहरि आचार्य वडाध्यक्ष पदका उम्मेदवार छन् भने एमालेबाट होमनाथ ढुङ्गेललाई उठाइएको छ । वडा नम्बर ३ मा गठबन्धनबाट बिनु के.सी. महिला सदस्य, निर्मला परियार दलित महिला सदस्य, गणेशमान कुटु वडा सदस्य र रमेश प्याथ माओवादी केन्द्रबाट वडा सदस्यको उम्मेदवार बनेका छन् ।

वडा नम्बर ३ मा नमुनाबस्ती गठ्ठाघर, सागबारी, कौशलटार, बुढाथोकी गाउँ र तेर्साटारमा गरी कूल पाँच हजार दुई सय बढी मतदाता रहेका छन् । २०७४ को स्थानीय निर्वाचनमा अन्तरघात नभएको भए मध्यपुर थिमी नगरपालिकाले पूरै सीट जित्नेमा अन्तरघातका कारण उपप्रमुखसहित सातवटा वडाध्यक्ष पद काँग्रेसले जितेको थियो । वडा नम्बर ३ का वडाध्यक्ष प्रेमबहादुर कुटुले यसपाली टिकट पाएनन् । काँग्रेसीहरूके उर्वरभूमि तथा स्व. नेता जगन्नाथ आचार्यको जन्मस्थान कौशलटारबाट कृष्णहरि आचार्यले नै टिकट पाएपछि उनलाई जिताउन आचार्य परिवारहरू लगायतका काँग्रेसजनहरू सक्रिय रूपमा लागिपरेका छन् ।

उता, तेर्साटारका काँग्रेसीहरूले सम्पर्क कार्यालय खोली घरदैलो अभियान शरु गरेर गठबन्धनका उम्मेदवारहरूलाई जिताउन एकजुट भएका छन् । कौशलटार हाइट (तेर्साटार) मा एकजनालाई पनि काँग्रेसले वडा सदस्यमा नपत्याएकोमा काँग्रेसीहरूले अलिकति चित्त दुखाएका छन् । अहिलेको समयमा व्यवस्थापन गर्दा केहीमात्रामा कमी भएको स्वीकार्दै वडा अध्यक्षका उम्मेदवार कृष्णहरि आचार्यले त्यसको अभाव आफूले नहुने गरी कार्य गर्ने वचन दिएका छन् ।

खेतीपाती स्याहार्ने र लगाउने बेलामा उम्मेदवार एवं आस्थावान् व्यक्तिहरूलाई चुनावको चटारोले मतदाताको घर—घरमा पुग्न भ्याइनभ्याई भएको छ । भक्तपुरका अन्य तीनवटा नगरपालिकाहरू सूर्यविनायक, भक्तपुर र चाँगुनारायणमा पनि काँग्रेससहित गठबन्धनका उम्मेदवारहरूले व्यापक रूपमा प्रचार—प्रसार गरी चुनावी माहौललाई तताएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

काँग्रेसबाट चाँगुनारायण नगरपालिका प्रमुखमा जीवन खत्री, उपप्रमुख सुभद्रा काफ्ले, भक्तपुर नगरपालिकामा राप्रसाद कासुला, उपप्रमुखमा ओमचरण अमात्य (एश) र सूर्यविनायक नगरपालिका प्रमुखमा निशान ढुङ्गेल तथा उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) बाट श्यामसुन्दर बस्नेत उम्मेदवार बनेका छन् । आज मध्यपुर—३ को कौशलटार चोकमा काँग्रेसले चुनावी आमसभा गर्दैछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *