भवन निर्माण विभागमा डीजीको खोजी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । सेलिब्रेटी बनेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक नवराज प्याकुरेललाई मन्त्रालयमा आएको एक महिनामा हटाएकी थिइन् । मन्त्री झाँक्रीले सेटिङ भत्काउने नाममा गत कार्तिक २८ गते प्याकुरेललाई मन्त्रालयमा तानेर मन्त्रालयका सहसचिव पदमकुमार मैनालीलाई विभागको महानिर्देक बनाएकी थिइन् ।

हालका शहरी विकास सचिव रमेशप्रसाद सिंहले वरिष्ठतालाई मिचेर आर्थिक चलखेलका आधारमा एक करोड रकम बुझेर प्याकुरेललाई विभागको महानिर्देशक बनाएको आरोप लागेको थियो । पछि मन्त्री झाँक्रीले सेटिङवाला सचिव सिंह र डीजी प्याकुरेललाई हटाई सचिवमा मणिराम गेलाल र महानिर्देशकमा मैनालीलाई ल्याएकी थिइन् । हाल मन्त्रालयमा सेटिङवाला सचिव नै फर्किएका छन् भने डीजी मैनाली यथावत् नै रहेका छन् ।

मन्त्री झाँक्रीलाई विभिन्न आश्वासन र आर्थिक सहयोगको लोभ देखाएर डीजी बनेका मैनालीले छ महिना पूरा गर्दा न मन्त्रीको आश्वासन पूरा भएको छ न विभागले काँचुली फेरेको छ । यथास्थितिमा मैनालीले मन्त्री झाँक्रीलाई बुझाउने भन्दै २१ वटा जिल्ला डिभिजन कार्यालयहरुबाट रकम असुली आपैmँले खल्तीमा हाल्ने गरेको चर्चा चलेको छ । रकम असुलीका लागि मैनाली गुटका प्राविधिक सहसचिवहरु रामचन्द्र वंगाल र सुरेन्द्रमोहन श्रेष्ठले जिम्मा लिएको जानकारहरुले बताएका छन् ।

चुनाव सम्पन्न भएपछि मन्त्री झाँक्रीले कुमारप्रसाद घिमिरे वा पुरानै डीजी हाल बागमती सभ्यता एकीकरण आयोजनाका प्रमुख प्याकुरेललाई डीजी बनाउने तरखरमा जुटेको खबर प्राप्त भएको छ । मैनाली प्रजातन्त्रवादी भए पनि आर्थिक मामिलामा लोभी रहेकोले सचिव सिंहसँग तालमेल मिल्दछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *