राष्ट्रपतिको जिल्लामा एमालेलाई धक्का

Nayabimarsha (Weekly Newspaper from Nepal)

भोजपुर ।  राष्ट्रपति विद्यादेवी भण्डारीको जन्म जिल्ला भोजपुरमा भण्डारीको समर्थन रहेको दल नेकपा (एमाले) लाई धक्का लागेको छ । विगतमा एमालेको वर्चश्व रहँदै आएको भोजपुर जिल्लामा यस पटकको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई स्थानीय तहमा राम्रो सफलता मिलेको हो ।

एमालेले यस जिल्लालाई ‘लाल किल्ला’ का रुपमा लिने गरेको थियो । यस पटक कांग्रेसले एमालेबाट धेरै पालिका र वडाहरू खोसेको निर्वाचन परिणामहरुले देखाएका छन् । अरुण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शालिकराम खत्री ले दुई हजार आठ सय ८७ मतसहित निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षमा विनिता ढकाल तीन हजार मतसहित निर्वाचित भएकी छिन् । यो पालिकामा कांग्रेसबाट वडा नं.३ मा कुमार कार्की र ५ मा युवराज ढकाल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

भोजपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कैलाशकुमार आले पाँच हजार छ सय १५ मतसहित निर्वाचित भएका छन् । आलेले आफूसँगै बहुमत वडामा वडाध्यक्ष र सदस्य जिताई यस पटक फेरि दोहोरिएका हुन् । यस पालिकाको वडा नं.२ मा प्रसाद तामाङ, ३ मा मनिराज राई ‘राजकुमार’, ४ मा गीरेन्द्र खड्का, ५ मा फविन्द्र प्रधान, ७ मा जयबहादुर तामाङ, १० मा सविन्द्र राई, ११ मा अशोक राई र १२ मा देवीप्रसाद कार्की कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सरोज बस्नेत तीन हजार नौ सय ८० मतसहित निर्वाचित भएका छन् । कांग्रेसबाट वडा नं.४ को वडाध्यक्षमा हर्कराज राई, ७ मा बलबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् ।

उता, आमचोक गाउँपालिकामा माओवादीबाट अध्यक्षमा अशोक राई तीन हजार छ सय ८६ र उपाध्यक्षमा सीता राई तीन हजार पाँच सय ६१ मतसहित निर्वाचित भएका हुन् । यो पालिकाको वडा नं.१ मा कांग्रेसका निम्नुरी शेर्पा, २ मा रामबहादुर खड्का विजयी भएका छन् ।

यता, रामप्रसाद राई गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका वीरेन्द्र राई तीन हजार पाँच सय ७७ मतसहित विजयी भएका छन् । यो पालिकामा कांग्रेसले एउटा वडा पनि जित्न नसके पनि उपाध्यक्षमा जित निकालेको हो ।

साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट दौलथकुमार कुलुङ राई एक हजार आठ सय १४ मत र उपाध्यक्षमा कांग्रेसका अस्मिता कुलुङ राई एक हजार आठ सय ६२ मतसहित निर्वाचित भएका छन् । यो पालिकको वडा नं.१ मा गणेश बुढाथोकी, ३ मा विनोद राई, ४ मा संजय राई, ५ मा शिवकुमार राई र ६ मा विक्रमवन सन्यासी कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

उता, षडानन्द नगरपालिकाको प्रमुखमा भने एमालेले जित निकालेको छ । एमालेका सुरेन्द्रकुमार उदासले प्रमुखमा छ हजार सात सय ७२ र उप–प्रमुखमा माओवादी केन्द्रकी प्रमिला राईले सात हजार दुई सय ५७ मतसहित विजयको माला पहिरिएका छन् । यो पालिकाको वडा नं.२ मा कांग्रेसका विष्णुप्रसाद घिमिरे, ४ मा राजकुमार तामाङ, ६ मा सुमन विसन्के, ८ मा सुवास तामाङ, ११ मा भुपालकुमार कार्की, १३ मा पदमबहादुर तामाङ कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भए पनि प्रमुखमा कांग्रेसले जित निकाल्न सकेन ।

यसैगरी एमालेलाई राहत दिने पालिकामा पौवादुङ गाउँपालिका पनि परेको छ । यो पालिकाको अध्यक्षमा एमालेका किरण राई दुई हजार चार सय ९९ र उपाध्यक्षमा ज्योत्सना राई दुई हजार चार सय छ मतसहित निर्वाचित भएका छन् । यो पालिकाको वडा नं.२ मा कांग्रेसका हरेन्द्रबहादुर पौडेल निर्वाचित भएका छन् ।

हतुवागढी गाउँपालिकाको अध्यक्षमा पनि एमालेलाई राहत मिलेको छ । एमालेबाट उम्मेदवार बनेका प्रेमकुमार राई चार हजार ४२ ल्याई विजयी भए । एमालेले अध्यक्षमा जिते पनि उपाध्यक्ष भने कांग्रेसकी सुनिता राईले हत्याउन सफल भइन् । उनले तीन हजार सात सय आठ मत ल्याई निर्वाचित भएकी हुन् । यो पालिकाको वडा नं.७ मा जंगराज राई, ८ मा प्रेमबहादुर थापा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *