पुत्रमोह र द्रव्यमोहले उपेन्द्र समस्यामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

विराटनगर l स्थानीय निर्वाचन २०७९ जनता समाजवादी पार्टी (जसपा) का लागि हर्ष न विस्मात बन्न पुगेको छ । प्रमुख ३० र उपप्रमुख ३१ सिट जितेको जसपाले गठबन्धनको बुई चढेर वीरगञ्ज महानगरपालिकाको प्रमुख पनि जितेको छ । मधेश प्रदेश जसपाका लागि फलामको च्यूरा बन्न पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको सत्तामोह र जातिवादी सोचले पार्टीको पत्तासाफ भएको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

राजनीतिमा विरासत कायम गर्ने उद्देश्यले सत्तागठबन्धनबाट विराटनगर महानगरपालिकामा छोरा अमरेन्द्र यादवलाई उपप्रमुखको उम्मेदवार बनाए पनि शर्मनाक पराजय व्यहोरेका छन् । यादव नेकपा (एमाले) की शिल्पा कार्कीसँग ११ हजार बढी मतान्तरले उपप्रमुखमा पराजय भएका थिए । परिवारवाद र द्रव्य मोहमा लाग्दा जसपामा अध्यक्ष यादव विरुद्ध मोर्चाबन्दी शुरु भएको जानकारहरुले बताएका छन् ।

उता, संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले पनि गोरखामा शर्मनाक हार व्यहोरेपछि जनताले भ्रष्टहरुलाई नै रोजेको भन्दै बर्बराउन थालेका छन् । गोरखामा माओवादीले अग्रता कायम गरेको छ । जनकपुर उपमहानगरपालिका जसपाको भागमा परेपछि अध्यक्ष यादवले लालकिशोर साहलाई मोटो रकम लिएर उम्मेदवार बनाए पनि स्वतन्त्र उम्मेदवार मनोज साहसँग पराजय भएको समाचार स्रोतले दाबी गरेको छ ।

सिराहाको नगरपालिकामा शुभलाभ लिएर उम्मेदवार बनाइएका अशेश्वर यादवले पनि खुट्टा टेक्न सकेनन् । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती, लालबाबु राउतका पि.ए. दीपक यादव र उपेन्द्र यादवको खजाञ्ची पशुपति यादवलाई जनताले धूलो चटाइदिएका छन् । यसरी पुत्रमोह र द्रव्यमोहमा लागेका अध्यक्ष यादव विक्षिप्त भएर एमाले अध्यक्ष खड्गप्रसाद ओलीको शरणमा पुगेको जानकारहरुले बताएका छन् । आगामी जेठ १५ गते हुने बजेट भाषणपछि मन्त्रिमण्डल हेरफेर हुने चर्चा चलेको छ । नेकपा अध्यक्ष ओलीले गठबन्धनबाट जसपालाई अलग्याउने रणनीतिमा जुटेको भित्रि रहस्य थाहा पाएपछि काँग्रेस नेता मीनेन्द्र रिजालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जेठ ११ गते भेटेका छन् । ओली–यादव र नेपाल–रिजालको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कुनै दुर्घटना नभए मन्त्रिमण्डल हेरफेरमा जसपाबाट रेणुकुमारी यादव र महिन्द्र यादव तथा नेकपा एसबाट रामकुमारी झाँक्री र विरोध खतिवडा बाहिरिने समाचार स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *