अर्थमन्त्रीको ‘राष्ट्रघात’ मा साथ दिने मतियारहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ अर्थतन्त्रको बारेमा शून्य ज्ञान भएका अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन् । आ.व.२०७९/८० को बजेट निर्माणको अन्तिम दिन जेठ १४ गते राति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति अर्थात् अवकाशप्राप्त नायव सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई प्रवेश गराएको भनी उनीमाथि आरोप लागेको छ ।
पदीय मर्यादा बिर्सेर पटक–पटक विवादास्पद काम गर्दै आएका अर्थमन्त्री शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजश्वका दरहरु हेरफेर गराएको आरोप लागेको छ । प्रतिनिधिसभाको सरकारको नीति तथा कार्यक्रमअन्तर्गत छलफलमा सांसदहरुले अर्थमन्त्रीले राष्ट्रघात गरेको भन्दै राजीनामा मागेका छन् ।
‘उहाँहरु राजश्व विज्ञ हुनुहुन्छ, राजश्वका दरबारे मेरा तर्फबाट उहाँहरुले केही फेरबदल गर्न सक्नुहुन्छ, उहाँहरुले जे–जे मिलाउनुहुन्छ, त्यसमै सही गरेर मकहाँ ल्याउनु होला’ भन्दै अर्थका अधिकारीहरु अर्थसचिव मधु मरासिनी, राजश्व सचिव कृष्णहरि पुष्कर, राजश्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल र बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बूढालाई शर्माले निर्देशन दिएको दाबी गरिएको छ ।
व्यापारीलाई हित हुने गरी विद्युतीय सवारी साधनमा अन्तशुल्क तथा भन्सार महसुल वृद्धि, स्यानिटरी प्याडमा विदेशीलाई छूट तर स्वदेशी कच्चा पदार्थमा भन्सार महसुल यथावत्, फलाम तथा स्पातमा आश्रित तार र मोटरसाइकलमा थप गरिएको भन्सार महसुलले अर्थमन्त्री शर्मा विवादको घेरामा परेका छन् ।
पूर्वअर्थसचिवद्वय देवेन्द्रराज पाण्डे र विमल कोइरालाले यस्तो जघन्य अपराधमा सचिव र सहसचिवहरुले त्यो घटना कसरी हेर्न सके होलान् अर्थात् हुँदैन भन्न किन सकेनन् वा उनीहरु किन त्यही लाचार भएर बसिरहे भन्दै आक्रोश व्यक्त गरेका छन् ।
अर्थमन्त्री शर्माले गरेको जघन्य अपराधमा उनीहरुलाई पनि कारबाही हुनुपर्ने बताइएको छ । अर्थमन्त्रालयले उक्त कुराको खण्डन गरेको छ । राज्यले कारबाही गर्न चाहे मन्त्रालयको सि.सि. क्यामेराको फुटेजमा स्पष्ट देख्न सकिने भनी प्रतिपक्षी दलका सांसदहरुले संसदमा आवाज उठाएका थिए ।
अर्थमन्त्रीको उक्त कदमलाई जनघात, राष्ट्रघात र राष्ट्रको नाममा खाएको शपथको विरुद्ध हो भन्दै प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीको राजीनामा माग गरिएको छ । अर्थमन्त्री परिवर्तन हुने चर्चा चलेको छ । अर्थमन्त्री परिवर्तन भए मतियारहरुलाई पनि कारबाही हुन सक्ने समाचार सूत्रले बताएको छ । राजनीति गर्ने (अर्थमन्त्री) जनार्दन शर्माको निर्णय मान्न र तलुवा चाट्न अर्थसचिव तथा राजश्व सचिव र सहसचिवद्वय बराल तथा बूढा किन बाध्य भए भन्ने बहस शुरु भएको छ ।
यसैबीच, अर्थमन्त्री शर्माको राजीनामाको माग गर्दै नेकपा (एमाले) ले संसद् अवरुद्ध गरेपछि अर्थमन्त्री रन्थनिन पुगेका छन् । एमालेले छानबिन समिति बनाउन र सि.सि. क्यामेराको फुटेज मगाउन माग गरेका छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *