सम्पादकीय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनसँगै पार्टीको नेतृत्वमा देखिएको पुस्तान्तरणलाई सामान्य सांगठनिक फेरबदलका रूपमा मात्र बुझ्न मिल्दैन । गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुनु कांग्रेसभित्र लामो समयदेखि सुनिँदै आएको परिवर्तनको चाहनाले संस्थागत रूप पाएको अवस्था हो । महाधिवेशनको पछिल्लो मतपरिणामले पनि प्रतिनिधिहरू पुरानै ढर्राको निरन्तरताभन्दा नयाँ सोच, नयाँ कार्यशैली र फरक गतिसहितको नेतृत्व खोजिरहेका थिए भन्ने सन्देश दिएको छ । लोकतान्त्रिक पार्टीमा नेतृत्वको वैधता कार्यकर्ता र प्रतिनिधिको अभिमतबाट स्थापित हुन्छ । त्यसैले महाधिवेशन सकिएपछि जित्नेले सबैलाई समेट्नु र पराजित वा असन्तुष्ट पक्षले परिणाम स्वीकार गर्नु नै लोकतान्त्रिक संस्कार हो । कांग्रेसको इतिहास जति लामो र गौरवपूर्ण छ, वर्तमान चुनौती त्यति नै गम्भीर छन् । जनतासँग कमजोर बनेको सम्बन्ध सुधार्ने, संगठनमा ऊर्जा भर्ने, नयाँ पुस्तालाई आकर्षित गर्ने र मुलुकको बदलिएको राजनीतिक मनोविज्ञानअनुसार आफूलाई रूपान्तरण गर्ने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आएको छ । यस्तो समयमा पार्टी फेरि आन्तरिक शक्ति परीक्षणमै अल्झियो भने महाधिवेशनबाट पैदा भएको उत्साह धेरै समय टिक्न सक्दैन ।
एकातिर नयाँ कार्यसमिति बनेर कांग्रेस नयाँ यात्रातर्फ अघि बढिरहेका बेला अर्कोतिर पूर्वसभापति शेरबहादुर देउवानिकट समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा समानान्तर रूपमा अर्को १५औँ महाधिवेशनको अभ्यास गरिरहनु पार्टी हितअनुकूल देखिँदैन । कतिपय स्थानमा वडा तहकै अधिवेशन व्यवस्थित रूपमा अघि बढाउन नसकेको अवस्थामा केन्द्रमा छुट्टै महाधिवेशनको संरचना खडा गरेर वैकल्पिक वैधानिकता खोज्नुले कांग्रेसलाई बलियो होइन, झन् अन्योलग्रस्त बनाउने जोखिम हुन्छ । राजनीतिक दल केवल केही शीर्ष नेताको स्वामित्वमा रहने संस्था होइनÙ हजारौँ कार्यकर्ताको श्रम, त्याग र पुस्तौँको योगदानले बनेको साझा राजनीतिक घर हो । त्यही घरभित्र असन्तुष्टि छ भने त्यसको समाधान अर्को घर ठड्याएर होइन, मूल घरभित्रै संवाद र समझदारी खोजेर गरिनुपर्छ । अझ बी.पी. कोइरालाको नाम र विरासतसँग जोडिएका डा. शशांक कोइरालाबाट पार्टीलाई दुई धारमा उभ्याउनेभन्दा जोड्ने भूमिकाको अपेक्षा हुनु स्वाभाविक छ । बी.पी.ले बोकेको लोकतान्त्रिक मूल्यको मर्म प्रतिस्पर्धालाई स्थायी शत्रुतामा बदल्नु होइन, फरक मतलाई समेत एउटै राजनीतिक यात्रामा समेट्नु हो । देउवाको लामो राजनीतिक अनुभव र शशांकको ऐतिहासिक पारिवारिक विरासत कांग्रेसको सम्पत्ति हुन्Ù ती पार्टीभित्रै उपयोग हुँदा अर्थपूर्ण हुन्छन्, समानान्तर संरचनाको आधार बनाउँदा होइन ।
अब कांग्रेसका दुवै धारले आ–आफ्नो हठभन्दा पार्टीको भविष्य ठूलो हो भन्ने स्वीकार गर्नुपर्छ । गगनकुमार थापाले महाधिवेशन जितेका छन् भन्दै पुरानो नेतृत्व र उसका समर्थकलाई किनारामा धकेल्ने सोच राख्नु हुँदैन । नयाँ नेतृत्वको वास्तविक परीक्षा निर्वाचन जित्नुमा होइन, आफूलाई मत नदिने कांग्रेसजनलाई समेत विश्वासमा लिएर हिँड्न सक्नुमा हुनेछ । त्यसैगरी देउवा पक्षले पनि नेतृत्व हस्तान्तरणलाई आफ्नो राजनीतिक अस्तित्व समाप्त भएको अर्थमा लिनु आवश्यक छैन । लोकतान्त्रिक संस्थामा नेतृत्व फेरिन्छ, तर अनुभव र योगदानको मूल्य समाप्त हुँदैन । बरु देउवा, शशांकसहित पुरानो पुस्ताले नयाँ नेतृत्वलाई अनुभव हस्तान्तरण गर्दै अभिभावकीय भूमिका निर्वाह गर्न सके कांग्रेसको राजनीतिक उचाइ बढ्न सक्छ । मुलुकको राजनीति तीव्र रूपमा बदलिएको छ, मतदाताको मनोविज्ञान फेरिएको छ र नयाँ पुस्ताले दलहरूसँग परिणाममुखी राजनीति खोजिरहेको छ । यस्तो घडीमा कांग्रेस आफैंभित्र दुईवटा महाधिवेशन, दुईवटा नेतृत्व र दुईवटा वैधानिकताको विवादमा समय खर्च गरेर बस्नु हुँदैन । समानान्तर महाधिवेशनको अध्याय बन्द गरी संवादको ढोका खोल्नु, गगन नेतृत्वले सम्मानपूर्वक सबै पक्षलाई समेट्नु र सिंगो कांग्रेस एउटै संगठनका रूपमा अघि बढ्नु आजको आवश्यकता हो । नेतृत्व कसको हातमा रह्यो भन्नेभन्दा कांग्रेस कति एकताबद्ध, भरोसायोग्य र समयसापेक्ष बन्न सक्यो भन्ने कुरा नै अन्ततः इतिहासले मूल्यांकन गर्नेछ ।
