काठमाडौं/ नेपाली चलचित्रको प्रदर्शनीमा शुरुवाती भीडलाई नै अन्तिम सफलताको मापदण्ड मान्ने चलन पुरानै हो । अहिले हलमा चलिरहेको ‘पार्वती’ ले भने त्यसको ठीक उल्टो यात्रा गरिरहेको देखिन्छ । प्रदर्शनीका प्रारम्भिक दिनमा अपेक्षाअनुसार दर्शक नपाए पनि बिस्तारै चलचित्रबारे सकारात्मक चर्चा फैलिँदै गएपछि यसको प्रदर्शनले गति समातेको छ । भदौ १२ गतेबाट प्रदर्शनीमा आएको चलचित्रले भदौ २१ गतेसम्म ५४ हजार ७ सय ३५ टिकट बिक्री गर्दै १ करोड ५८ लाख ८४ हजार रुपियाँभन्दा बढीको ग्रस व्यापार गरेको चलचित्र विकास बोर्डको तथ्यांक छ ।
‘पार्वती’ को कथा यसको मूल आकर्षण हो । अभिनेत्री नीता ढुंगानाको कथा तथा निर्देशन रहेको चलचित्रले अटिजम भएकी एक महिलाको जीवन, उनको परिवार र विशेषतः दिदी–भाइबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राखेको छ । नीताले स्वयं विशेष अवस्थाकी महिलाको भूमिका निर्वाह गरेकी छिन् भने अशोक दर्जीले उनका भाइको भूमिका निभाएका छन् । परिवारभित्रको माया, जिम्मेवारी र संघर्षलाई सामाजिक संवेदनासँग जोडेर प्रस्तुत गर्ने प्रयास चलचित्रमा गरिएको छ । यसले सामान्य प्रेमकथा वा परम्परागत पारिवारिक कथाभन्दा फरक विषय उठाएको दर्शक रञ्जना सिग्देलको भनाइ छ ।
चलचित्रको यात्रामा अर्को महत्वपूर्ण पक्ष यसको प्रदर्शनीको समय पनि हो । मुलुक रसुवा–भोटेकोसीको विपत्तिबाट आहत भइरहेका बेला ‘पार्वती’ हलमा पुगेको थियो । त्यसैले शुरुवाती दिनमा दर्शकको मनोरञ्जनतर्फको रुचि स्वाभाविक रूपमा कमजोर हुनु अस्वाभाविक थिएन । पहिलो दिनको आम्दानीबाट निर्माताको हिस्साको करिब ११ लाख रुपियाँ विपद् राहतका लागि छुट्याउने निर्णयले चलचित्रलाई सामाजिक पक्षबाट समेत जोडेको बताइएको छ ।
केही दिनपछि चलचित्रको अवस्थाले फरक संकेत दिन थालेको बताइएको छ । हलमा गएर चलचित्र हेरेका दर्शकले आफ्ना अनुभव अरूलाई सुनाउन थालेपछि ‘पार्वती’को प्रचार परम्परागत विज्ञापनभन्दा दर्शकको प्रतिक्रियामार्फत अघि बढेको बताइएको छ । निर्माण पक्षका अनुसार तेस्रो दिनपछि व्यापारमा सुधार आएको थियो र दर्शकको चापअनुसार शो पनि बढाइएको थियो । यसबाट नेपाली चलचित्रमा अझै पनि …कथाले जितेपछि दर्शक आफैं प्रचारक बन्न सक्छन्Ú भन्ने सम्भावना देखिएको चलचित्रलाई राम्ररी नियाल्दै आएका मनोजकुमार पोखरेलको धारणा छ ।
यसको व्यापारलाई लिएर पूर्ण सफल वा असफल भन्ने निष्कर्षमा पुग्न अहिले नै हतार हुने पनि चर्चा छ । एकातिर डेढ करोडभन्दा बढीको ग्रस कारोबार र ५४ हजारभन्दा बढी दर्शकको उपस्थिति उत्साहजनक आधार हो भने अर्कोतिर चलचित्रको वास्तविक व्यावसायिक सफलता यसको दोस्रो सातापछिको निरन्तरता र लगानीको तुलनामा प्राप्त प्रतिफलले निर्धारण गर्ने बताइन्छ । केही विश्लेषणले शो तथा अकुपेन्सीमा आएको उतारचढावलाई चुनौतीका रूपमा पनि औंल्याएका छन् ।
‘पार्वती’ को चर्चा यस अर्थमा पनि महत्वपूर्ण छ कि यसले नेपाली दर्शकको रुचिबारे एउटा संकेत दिएको बताइएको छ । ठूलो बजेट, चर्चित नाम वा भव्य प्रचार मात्र पर्याप्त नहुन सक्छ’ दर्शकले आफूलाई छुने विषय भेटे भने चलचित्रलाई समय दिएर हेर्न तयार हुन्छन् । पारिवारिक सम्बन्ध, विशेष अवस्थाका व्यक्तिप्रतिको सामाजिक दृष्टिकोण र मानवीय संवेदनालाई पर्दामा ल्याएको ‘पार्वती’ले अहिले यही विश्वासको परीक्षा दिइरहेको बताइन्छ ।
अब यसको बाँकी प्रदर्शनले एउटा प्रश्नको जवाफ दिनेछ कि शुरुवातमा सुस्ताएको ‘पार्वती’ दर्शकको प्रतिक्रियाले उठाएको लयलाई अन्तिमसम्म कायम राख्न सक्छ कि सक्दैन ? हालसम्मको यात्राले भने नेपाली चलचित्र बजारमा दर्शकको मन जित्ने बाटो अझै पनि कथाबाटै शुरु हुन्छ भन्ने संकेत गरेको बताइएको छ ।
‘पार्वती’ : सुस्त शुरुवात, समाउँदै गएको दर्शकको मन
Facebook Comments Box
