देउवाले ध्यान नदिँदा काँग्रेस भद्रगोल

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता स्वार्थलई मात्र ध्यान दिँदा काँग्रेस लथालिङ्ग र भद्रगोल बन्न पुगेको छ । १४ औँ महाधिवेशन सम्पन्न भएको सात महिना पुग्दासमेत नेतृत्व विधि, पद्धति र विधानअनुसार अगाडि बढ्न सकेको छैन ।
काँग्रेसमा संस्थापनइतर पक्षका नेताहरु पनि संगठनलाई दह्रो बनाउनेतर्फभन्दा भागबण्डा गरेर सत्तामा जानका लागि रचनात्मक विद्रोहको नाटक मञ्चन गर्दै आइरहेका छन् । संस्थापनइतर पक्षको घुर्कीलाई सभापति देउवाले टेरपुच्छर लगाएका छैनन् ।
काँग्रेसमा आत्मघाती कदम चालेका १४ औँ महाधिवेशनबाट सभापतिमा पराजित शेखर कोइरालालाई कोइराला परिवारले नै साथ नदिँएपछि सभापति देउवा स्वेच्छाचारी बनेको राजनीतिक वृत्तमा चर्चा चलेको छ । बाहिरी आवरण जेजस्तो भए पनि शशांक कोइराला भित्रीरुपमा देउवापछि उत्तराधिकारी बन्ने रणनीतिमा लागेको जानकारहरुले बताएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामशरण महत, अर्जुननरसिंह केसीइतर समूहको नेता बन्ने दौडबाट बाहिरिएपछि शेखरलाई सर्वस्वीकार्य नेता बन्ने हुटहुटीले ग्रसित बनाएको छ । देउवाको अगाडि कोइरालाको प्रयास पूरा हुने सम्भावना छैन । राजनीति गर्न र आफ्ना मान्छे बनाउन पैसा चाहिन्छ, त्यो सबै कुरा देउवामा छ, अहिले शेखरलाई उपसभापति धनराज गुरुङ, मीनेन्द्र रिजाल, चन्द्र भण्डारी र बलबहादुर के.सी.लगायतका नेताहरुको साथ र समर्थन रहे पनि उनीहरुले देउवालाई गलाउन सकेका छैनन् ।
यही असार २७ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको काँग्रेसले गत असार २१ गते पदाधिकारीहरुको बैठक बोलाएको थियो । स्थानीय निर्वाचन सम्पन्न भएपछि समसामयिक राजनीतिक अवस्था, भ्रातृ संस्थाको विधान, भ्रातृ संस्थालाई पूर्णता दिनेबारे छलफल भएको थियो । एउटै पार्टीमा देउवा र शेखर गुटको शीतयुद्ध चल्न थाले फेरि पनि वामपन्थीहरुको हातमा नेतृत्व जाने र देश फेरि दुर्घटनामा पर्ने निश्चित छ भनी कांग्रेसका शुभचिन्तकहरुले भन्न थालेका छन् ।
‘सभापति एवं प्रधानमन्त्री देउवाले गठबन्धन कायम गरी आफ्नो दलका असन्तुष्ट पक्षलाई पनि समेटेर अगाडि बढ्न जरुरी छ । यसका अतिरिक्त भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिई तिखार्न ढिलो गर्न हुँदैन ।’ काँग्रेसका शुभचिन्तक समेत रहेका अधिवक्ता भवानीप्रसाद अधिकारी बताउँछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *