अख्तियारको फन्दामा कर्मचारीहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर÷ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कारबाही प्रक्रियालाई अघि बढाउने क्रममा विभिन्न कर्मचारीहरुमाथि मुद्दा दायर गरेको छ । यसक्रममा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा लगायत नौजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
सिंचाई कुलो निर्माण क्रममा उनीहरुले २३ लाख १० हजार पाँच सय ९६ रुपियाँ भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेपछि त्यो बेला त्यहाँ कार्यरत अन्य कर्मचारीहरुसमेत तानिने डरमा रहेका बताइएको छ ।
तत्कालिन सब–इञ्जिनियर राजेन्द्र शाही, ना.प्रा.स. मणिचन्द्र बि.क., जिल्ला समन्वय समिति मुगुका तत्कालीन खरिदार विश्वास उपाध्याय, तीनमुखेदेखि लुबाबान्न कृषि सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली, सहसचिव सुरेश बुढा र छायानाथ रारा नगरपालिका–१० का तत्कालीन वडाध्यक्ष धर्मदत्त सावत रहेका आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुसँग २३ लाख १० हजार पाँच सय ९६ रुपियाँ बिगो दाबी गरिएको छ ।
कर्ण मल्ल बी.पी.मा
भक्तपुर÷ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अस्तित्वको लडाइँ गरी कारबाहीमा परेका कर्णबहादुर मल्ललाई आफ्नो दलमा ल्याउने प्रयास नेकपा (एमाले) ले गरे पनि एमाले सफल हुन सकेन । कांग्रेसबाट प्रदेशसभा सदस्य रहेका तथा देउवाको जिल्ला डडेलधुराको सभापति समेत भैसकेका मल्ललाई आफ्नो पक्षमा ल्याई देउवालाई चुनौती दिने योजनामा रहेका एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको योजना सफल भएन ।
गत स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई हराउन मल्लले नेपाली कांग्रेस (बी.पी.) भन्ने दलबाट आफूनिकटमा कांग्रेस नेता कार्यकर्ताहरुलाई उम्मेदवार बनाएका थिए । उनले एमालेसँग तालमेल गरी अधिकांशस्थानहरुमा उम्मेदवार पनि बनाएका थिए । एमालेको बुइ चढेर कांग्रेसलाई हराउने ध्येय राखेका मल्ललाई कांग्रेसले कारबाही गरी प्रदेशसभाबाट समेत बर्खास्द गरेपछि उनलाई आफ्नो पक्षमा ल्याउन ओलीले भगीरथ प्रयास गरेका थिए ।
मल्लले भने एमालेमा नजाने जानकारी मात्र गराएनन् कि उनी अहिले नेपाली कांग्रेस (बी.पी.को उप–सभापति बनाइएका छन् । उक्त दलले महामन्त्रीमा हेमन्तबहादुर मल्ललाई समेत मनोनीत गरेको जनाएको छ । नेपाली कांग्रेस (बी.पी.) का सभापति सुशीलमान शेरचनले मनोनीत गरेका हुन् । यसैगरी सो दलले उनीहरुलाई केन्द्रीय समितिमा समेट्ने क्रममा केन्द्रीय सदस्यमा करुणकर भट्ट, हरिप्रसाद भट्ट, तहरीसिंह बोहरा, पुष्कल पन्त, विश्वकान्त अधिकारी, सुन्दरसिंह मेहर बोहरा, लक्ष्मीप्रसाद कोइराला, टिकिन्द्र कार्कीलाई समेत मनोनीत गरेको जनाएको छ ।
यस्तै केन्द्रीय सदस्यमा ईश्वर देवकोटा, कौशला चौधरी, मुना थापा, राम तामाङ, पंकज अधिकारी, रामचन्द्र गौतम, बद्री फैजु र कृष्णबहादुर पोखरेल पनि मनोनीत भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *