लोकप्रिय मतमा काँग्रेस अगाडि

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ / गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतमा नेपाली काँग्रेस पहिलो भएको छ । स्थानीय तहको निर्वाचनमा काँग्रेसले वडाध्यक्षतर्फ ३९ लाख ५६ हजार बढी मत ल्याएर पहिलो बनेको छ ।
गठबन्धन हुँदा पनि नेकपा (एमाले) ले ३८ लाख ११ हजार बढी मत ल्याएर दोस्रो स्थान हात पारेको छ । त्यसैगरी, नेकपा (माओवादी केन्द्र) ले गठबन्धनकै कारण १५ लाख बढी मत ल्याई तेस्रो र पाँच लाख बढी मत ल्याएर जनता समाजवादी पार्टी चौथो र चार लाख २२ हजार मत पाएर नेकपा (एकीकृत समाजवादी) पाँचौँ बन्न पुगेको छ ।
आगामी संसदीय निर्वाचनमा पनि काँग्रेस नै पहिलो हुने गृह मन्त्रालयको सर्वेक्षणले बताएको छ । अहिलेको अवस्थामा काँग्रेसभित्रको एकता मजबुत बने र गुट–उपगुट नभएर एक्लाएक्लै निर्वाचनमा गए कूल ७७ सिटमा जित हासिल गर्ने बताइएको छ । यो सिट २०७४ को भन्दा ५४ बढी हो । गृहको सर्वेक्षणअनुसार एमालेले ७० र माओवादी केन्द्रले आठ, नेकपा एसले एक, जसपाले चार, लोसपाले दुई सिट जित्ने रिपोर्ट निकालेपछि एमालेबाहेका वामपन्थीहरु चुनाव अघि नै समाजवादी केन्द्र निर्माणमा जुटेका छन् ।
एमाले विभाजन हुँदा पनि काँग्रेसभन्दा सात सिट मात्र पछाडि रहेपछि एमालेको संगठन बलियो रहेको स्रोतले जानकारी दिएको छ । समाजवादी केन्द्रमा पुष्पकमल दाहाल, वामदेव गौतम, बाबुराम भट्टराई, माधवकुमार नेपाललगायत अन्य साना वामपन्थी दलहरु पनि एकीकृत हुने बताइएको छ । एमाले र समाजवादी केन्द्र नमिल्ने हो भने काँग्रेस ठूलो दल बन्ने, मिले २०७४ कै अवस्थामा पुग्ने जानकारहरुले बताएका छन् ।
स्थानीय तहको निर्वाचन परिणामबाट मख्ख परेको काँग्रेस आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेरै अगाडि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको सर्वेक्षणले देखाएको छ । एमाले र माओवादीको गठबन्धन भए एक सय ४५ सिट ल्याउने, काँग्रेस र माओवादीको गठबन्धन भए एक सय नौ सिट आउने रिपोर्ट गृहले पेस गरेको छ ।
माओवादी केन्द्र जो ठूलो दल बन्यो, त्यसैतिर लाग्ने भएकाले सरकार गठनमा निर्णायक मानिएको छ । अहिलेकै अवस्थामा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन अपरिहार्य बनेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *