नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

Nayabimarsha (Weekly Newspaper from Nepal)

हेटौंडा÷ नेपाल प्रेस युनियनको अध्यक्षमा श्रमजीवि पत्रकार शिव लम्साल निर्वाचित भएका छन् । लम्सालले अर्का उम्मेदवार अनिता बिन्दुलाई एक सय ३३ मतान्तरले पराजित गरेका हुन् ।
लम्सालले सात सय ४५ र बिन्दुले छ सय १२ मत तथा अध्यक्षका अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत ल्याएका थिए । गत श्रावण ६ र ७ गते हेटौँडामा सम्पन्न भएको नवौँ महाधिवेशनमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले विन्दु पक्षबाट उम्मेदवार बनेका उम्मेदवारलाई जिताउन चलखेल गरेको आरोप लागेको छ । यसअघि २०७१ सालमा पोखरामा सम्पन्न आठौँ महाधिवेशनमा बद्री सिग्देलसँग थोरै मतले लम्साल पराजित भएका थिए ।
प्रेस युनियनको वरिष्ठ उपाध्यक्षमा प्रेम के.सी., खुला उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित भएका छन् भने महासचिवमा दिलिप पौडेल विजयी भएका छन् । आठ वर्षसम्म हुन नसकेको युनियनको निर्वाचन पछिल्लो समयमा गर्न कांग्रेसका सभापति शेरबहादुर देउवा बाध्य भएको बताइएको छ ।
युनियनको महाधिवेशनमा कांग्रेसको पक्षमा कलम चलाउँदै आएका सञ्चारमाध्यमका सम्पादकहरुलाई प्रतिनिधिमा नराखी विभिन्न क्याम्पस तथा विद्यालयका नेविसंघको इकाइ समितिमा रहेका व्यक्तिहरुलाई गाडी चढाएर लगेको आरोप पनि लागेको छ ।

डोलीका कर्मचारी भवन विभागमा गाभिने
ललितपुर÷ स्थानीय पूर्वाधार विभाग (डोलिडार) मा कार्यरत कर्मचारीहरु शहरी विकास तथा भवन निर्माण विभागमा समायोजन हुने भएका छन् । सडक विभागले डोलीमा कार्यरत कर्मचारीहरुलाई नभित्र्याउन गत २०७९ जेठको अन्तिम सातादेखि विभागको द्वारमा दुई घण्टा विरोध जनाउँदै आइरहेको छ । झोलुङ्गे पुल निर्माणका लागि कार्यरत डोलीमा प्राविधिक सहसचिव (सुइ) २२ जना, सिडिइ – इञ्जिनियर र ओभरसियर गरी दुई सय ९१ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा डोली खारेज गरी त्यहाँ कार्यरत कर्मचारीहरुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, खानेपानी मन्त्रालय र सिंचाइमा समायोजन गर्ने बताइएपछि सडकका कर्मचारीहरु आन्दोलित बनेका थिए । वृत्तिविकासमा असर पर्ने भन्दै मन्त्रालयका सचिव, सहसचिव (सुइ), महानिर्देशक, उपमहानिर्देशक, डिभिजन प्रमुख, योजना प्रमुख र इञ्जिनियरहरुले विरोध जनाएका थिए ।
खासगरी डोलीका कर्मचारीहरु प्रदेश र स्थानीय तहका वडा–वडासम्म व्यवस्थापन गरी काममा लगाउनुपर्ने दायित्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हो तर सामान्यले दरबन्दी व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको जानकारहरुले बताएका छन् ।
डोलीका अनुभवी र क्षमतावान् इञ्जिनियरहरुलाई आवश्यकपर्ने सेवा, सुविधा दिएर विकास निर्माणका काममा स्थानीय निकायमा लगाउन सके विकास निर्माणले गति लिने सरोकारवालाहरुले बताएका छन् ।
यता डोलीका कर्मचारीहरु शहरी तथा भवन निर्माण विभागमा समायोजन हुने भएपछि सडक विभागका कर्मचारीहरुले राहतको महसुस गर्न थालेका छन् । सडक विभागमा पनि कतिपय डिभिजन प्रमुख, योजना प्रमुख र इञ्जिनियरहरु आकर्षक डिभिजन र योजना हात पार्न मन्त्री र सचिवको सेवामा तल्लिन हुने गरेका छन् । गत वर्षको सरुवामा तत्कालीन भौतिक सचिव रविन्द्रनाथ श्रेष्ठले शुभलाभ लिएर सरुवामा आतंक मच्चाएको पीडितहरुले गुनासो गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *