काँग्रेसको चुनावी अभियान

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसले आजदेखि ‘जनताको साथमा काँग्रेस’ अभियान शुरु गर्दैछ । यसअघि गर्ने भनिएको काँग्रेसको चुनावी अभियान सरेर आजबाट शुरु हुन लागेको हो । आजबाट शुरु हुने यो अभियान आगामी भदौ २४ गतेसम्म पहिलो चरणमा सञ्चालन हुने कांग्रेसले जनाएकोछ ।
यसैगरी दोश्रो चरणको अभियान समानुपातिक उम्मेदवारी दर्ता पछि र तेस्रो चरणको अभियान प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेपछि शुरु हुने कांग्रेसले जनाएको छ । आक्रामक रुपमा शुरु हुने चुनावी अभियानका लागि भनी देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएकोे छ जिल्लामा खटिएका प्रतिनिधिले जिल्लामा गएर जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र स्थानीय प्रतिनिधिहरुको बैठक बोलाई जिल्लाको बस्तुस्थितिको बारेमा जानकारी लिनेछन् ।
हरेक स्थानीय तह, हरेक वडा र हरेक टोलमा काँग्रेसले चुनावी अभियान सञ्चालन गर्नेछ । टोलभित्र रहेका काँग्रेस सदस्यहरुको विवरण, मतदाताको विवरण र जनताको समस्या सुन्ने तथा सम्वाद गर्ने जिम्मा जिल्लामा खटिने प्रतिनिधिहरुले गर्नेछन् । अभियानमा भातृ र शुभेच्छुक संस्थाको पनि भूमिका रहने काँग्रेस स्रोतले जानकारी गराएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी काँग्रेसले अभियान सञ्चालन गर्न लागेको अवस्थामा कांग्रेस भित्र गुटबन्दी हटाई आन्तरिक एकता कायम गर्नु पर्नेमा नेताहरुले जोड दिएका छन् । काँग्रेसले धेरै सिट लिने भन्दा परिणाम धेरै लिनेमा जोड दिएको छ । २०७४ को चुनावमा एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको काँग्रेस प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिटमा खुम्चिनु परेपछि गठबन्धन गरी बढी सिट जित्न लागिपरेको छ ।
गठबन्धनका कारण नेताहरुको व्यवस्थापन गर्न सकस भए पनि दलका लागि मै खाउँ, मै लाऔं भन्ने प्रवृत्ति र अन्तरघात गर्ने पुरानो संस्कार छाडी सबैले त्याग गर्नु पर्ने कांग्रेसका शुभचिन्तकहरुले बताएका छन् । काँग्रेसलाई सिट बाँडफाँटमा पेल्ने बेला यही हो भनेर गठबन्धनका सहयात्री दलहरुले निचोर्न खोजे परिणाम भयावह हुन सक्ने काँग्रेसका महामन्त्री गगनकुमार थापाले बताइसकेका छन् । काँग्रेसको संगठन र कार्यकर्ताको मनोविज्ञान बुझेर जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरुले गठबन्धन किन र केका लागि भनेर जनतालाई स्पष्ट रुपमा बुझाउनु जरुरी रहेको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *