क्यानमा डीजीको दादागिरी नेवानिमा टेण्डर

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौ/ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल पर्यटन बोर्डले विगत १७–१८ बर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजश्व उठाउँदै आइरहेको कार्यालयमा ताला लगाएर दादागिरी देखाएका छन् ।
डिजी अधिकारी पनि पर्यटन बोर्डका सदस्य हुन् । पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरण दुबै पर्यटन मन्त्रालय अन्तरगत पर्दछन् । तात्तालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई मोटो रकम बुझाएर क्यानको डिजी पद हात पार्न सफल भएका अधिकारीको कार्यशैलीप्रति क्यान मातहतका कार्यालयका कर्मचारीहरु सबै रुष्ट बनेको समाचार स्रोतले बताएको छ ।
नागरिक उड्डयन प्राधिकरण बोर्डको अध्यक्ष पर्यटन मन्त्री र पर्यटन बोर्डको अध्यक्ष सचिव हुने व्यवस्था छ । हालका मन्त्री र सचिव दुबैजना शालिन एवं भद्र भएकाले डिजी अधिकारीलाई तात्कालिन मन्त्री आलेको आशिर्वाद रहेकाले अन्धभक्त बनेको जानकारहरुले बताएका छन् । पर्यटन बोर्डका सीइओ धनन्जय ऐमीलाई हटाउन आलेले न्वारन देखिएको बल लगाए पनि सफल नभै बहिर्गमन भएका थिए ।
अहिले महानिर्देशक अधिकारी क्यानको नीतिगत सुधार र कार्ययोजनातिर भन्दा विभिन्न ठाउँका एयरपोर्टको स्तरोन्नतिका नाममा कमाउधन्दामा लागेको र कसैको कुरा नसुनी अगाडि बढेको स्रोतले बताएको छ ।
यता, ऋणमा चुर्लुम्म डुबेर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको किस्ता तिर्न नसकेर रन्थनिएको नेपाल वायुसेवा निगमको अध्यक्ष पदको मूल्य पाँच करोडमा टेण्डर गरिएको छ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल निकट मानिने अध्यक्ष युवराज अधिकारीलाई तात्कालीन डाङ्गडुङ्गे मन्त्री प्रेमबहादुर आलेले हटाएका थिए । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण पुनर्बहाली भएका अधिकारीको पेसी आगामी असोज ४ गतेलाई तोकिएको छ ।
अधिकारीले तात्कालिन मन्त्री र सचिवका विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेका थिए । अधिकारीले घाटामा गएको नेपाल वायुसेवा निगमको सवा अर्व ऋण तिर्न सफल भएका थिए । अहिले आफ्नै पार्टीका नेताले भनेर राजनीतिक नियुक्ति गरेको व्यक्तिलाई हटाएर नयाँ नियुक्ति गर्नको लागि टेण्डर खोल्नु आर्थिक चलखेल नै भएको जानकारहरुले बताएका छन् । हाल नेवानिको अध्यक्ष बन्न दीप ज्वारचन, अमृति श्रेष्ठ, पूर्वकर्णेल रविन्द्र बस्नेत, सुवास रिजाल, गोबर्धन खड्का र क्याप्टेन सुधीर राई दौडधूपमा लागेको स्रोतले बताएको छ ।
हवाईमाफियाहरुको निर्देशनमा नियुक्त हुने अध्यक्ष पदका लागि चौधरी गु्रप, दीपक मलहोत्रा र यति समूह पैसाको बिटो बोकेर मन्त्री जीवनराम श्रेष्ठ समक्ष पुगेको स्रोतले बताएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *