सडकको टाउको दुखाई बालेनले हटाए

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । दोस्रो पटक सडक विभागको महानिर्देशक बनेका अर्जुनजंग थापा ‘एक्सन’ मा उत्रिएका छन् । बर्षौदेखि सडकका लागि टाउको दुखाई बनेको जडिबुटी चोकको छाप्रो काठमाडौंका प्रमुख बालेन साहको सहयोगमा भत्काएर यातायात आवागमनमा सहज बनेको छ ।
‘तिमीहरु पानी मरुवा रहेछौ, म उक्त छाप्रो भत्काई दिन्छु तुरुन्त सम्म पारी पिच गर्नू’ भन्ने प्रमुख साहको अभिव्यक्तिपछि सडक विभाग र सडक डिभिजन काठमाडौंले भत्काइएको क्षेत्रमा सम्म पारी पिच गर्ने तयारी शुरु गरेको छ । तात्कालीन सडक विभागका महानिर्देशक दुर्गा के.सी. र उनीपछिका महानिर्देशकहरुले समेत सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण उक्त छाप्रो हटाउन सकेका थिएनन् । कोटेश्वरदेखि सूर्यविनायक खण्डका सडक विस्तारका क्रममा पनि धम्कीका कारण उक्त छाप्रो हटाइएको थिएन ।
सडक विभागले चुनौती मोल्न नसकी भत्काइएको उक्त छाप्रो सर्वोच्च अदालतको स्टे अर्डर भए पनि साहले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै भत्काएका छन् । उक्र छाप्रो भत्काएपछि जडिबुटी चोकबाट पेप्सीकोलातर्फ जाने यातायातलाई सहज भएको छ । बर्षौदेखि रोकिएको कोटेश्वर जडिबुटी सडकको विस्तार उक्त बुढो घरका कारण बाधक बन्दै आइरहेको थियो । अब माइतीघरदेखि सूर्यविनायकसम्म उक्त सडक छ लेनको भै पूर्णरुपमा सञ्चालन हुने भएको छ ।
गत भाद्र २६ गते उक्त बुढो र जीर्ण घर भत्काइएको थियो । सार्वजनिक जग्गामा बनेको उक्त छाप्रोका लागि सरकारले क्षतिपूर्ति दिने बताए पनि जग्गाधनी माइली खत्रीकी छोरी राधा खत्री बोहोराले मुआब्जा माग गरी क्षतिपूर्ति बापतको सात लाख बुझ्न नमानी प्रति आना एक करोड माग गर्दै आइरहेको समाचार स्रोतले बताएको छ ।
सडक विभागको मापदण्डमा माइली खत्रीको नाममा ०.५२ वर्गमिटर जग्गा मात्र उनको रहेकाले विभाग क्षतिपूर्ति दिन तयार थियो तर छोरी राधाले नमानेपछि सडक विस्तारको काम रोकिएको थियो । सर्वोच्च अदालतको फैसलाले सडक विस्तार गर्न विभागलाई बाटो खुले पनि विभिन्न दलका नेता कार्यकर्ताले उक्त विषयमा राजनीति गर्दै आइरहेका थिए । जेहोस् दशकौंदेखिको जडीबुटीको बुढो घर भत्काउन प्रमुख साह, ३२ नम्बर वडा अध्यक्ष र विभागका महानिर्देशकको सहकार्यमा सफलता मिलेको छ ।
२०२१ को मापदण्ड अनुसार २०३४ सालमा उक्त कच्ची घर र छ आना जग्गाको मुआब्जा वितरण भै सडक विभागका नाममा उक्त छाप्रो आइसकेको स्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *