सुनसरीमा निर्वाचन तात्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

सुनसरी । निर्वाचनको मिति नजिकिंदै गर्दा सुनसरी जिल्लामा निर्वाचनको माहोल तातेको छ । सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहताले नेकपा (एमाले) बाट प्रतिष्पर्धी रहेका भीमप्रसाद आचार्यप्रति कटाक्ष गरेका छन् ।
प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चुनावी घरदैलो कार्यक्रममा रहेका मेहताले एमालेबाट आफ्नो प्रतिष्पर्धी रहेका आचार्यले विगतका दिनमा गरेका कतुर्त जनताले नबिर्सिएको बताएका छन् । ‘भीमप्रसाद आचार्यजीले स्थानीय तहको चुनावमा टिकट वितरण गर्दा उहाँकै दलका कार्यकर्ताले लगाएका आरोपको अहिलेसम्म खण्डन भएको छैन, टिकट वितरणमा पैसा लिएका कुराहरू छन्,’ उनले भने, ‘उहाँ एउटा निर्वाचन क्षेत्रमा चुनाव लडेपछि त्यही क्षेत्रमा चुनावमा होमिन फेरि कहिल्यै जानुहुन्न, उहाँ सुनसरी निवासी भए पनि पर्यटक उम्मेदवारजस्तै हो ।’
यसअघि सुनसरीका विभिन्न क्षेत्रबाट आचार्य उम्मेदवार बन्ने गरेका थिए । उनी २०७४ को निर्वाचनमा सुनसरी १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए पनि उनले निर्वाचन क्षेत्र फेरिरहने मेहताको आरोप छ । प्रदेश १ को मुख्यमन्त्री हुँदा आचार्यले प्रदेशको नामकरण र एक वित्ता बाटो पनि बनाउन नसकेको आरोप मेहताले लगाउने गरेका छन् ।
आफू विगतमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएको र जनताका अधिकांश माग पूरा गरेकाले यस पटक पनि निर्वाचित हुने विश्वासमा रहेको उल्लेख नेता मेहताले गर्ने गरेका छन् । यसअघि निर्वाचित भइसकेपछि ठाउँठाउँमा जनताले चाहे अनुसार बजेट विनियोजन गरेको दाबी गर्दै मेहताले केही केही कामहरू बाँकी छन्, त्यो काम छिट्टै पूरा गर्ने वचनवद्धता पनि उनले गर्ने गरेका छन् ।
त्यसो त २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) प्रदेश १ का तात्कालीन इञ्चार्ज समेत रहेका आचार्यले पैसा मागेको भनी एमालेका नेता रेवती भण्डारीले आरोप लगाएका थिए । २०७७ कात्तिकमा भण्डारीले सो आरोप लगाएका थिए । एमालेका तात्कालीन केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठमार्फत आचार्यले पैसा माग्न लगाएको भन्दै टिकटको लागि १५ लाख माग गरेको भण्डारीको आरोप थियो । भण्डारी अहिले एमाले सुनसरीको अध्यक्ष छन् ।
उनै भण्डारीलाई सुनसरी २(क) बाट प्रदेशसभा सदस्यमा उठाएर आचार्य प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *