मोरङमा साहको प्रवेशले कांग्रेस रमायो

Nayabimarsha (Weekly Newspaper from Nepal)

मोरङ । नेपाल वैश्य सेवा संघ मोरङका अध्यक्ष गणेश साहसहित चार सय बढी नेपाली कांग्रेसमा प्रवेश गरेपछि मोरङ कांग्रेसमा उत्साह थपिएको छ । साह एलपी ग्यास विक्रेता संघ मोरङका अध्यक्ष, घरेलु तथा साना उद्योग संघका सदस्यलगायत दुई दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आबद्ध रहेका व्यक्ति भएका कारण पनि उनको प्रवेशले कांग्रेसमा उत्साह छाएको हो ।
चुनावी सभामा साहसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जसपा, राप्रपालगायत विभिन्न दल परित्याग गरी करिब चार सयको संख्यामा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । साह गत स्थानीय निर्वाचनमा जसपाबाट विराटनगर वडा नम्बर ११ का वडाध्यक्षका प्रत्यासी थिए । नवप्रवेशीहरुलाई मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका कांग्रेस नेता शेखर कोइराला, कांग्रेस केन्द्रीय सदस्य रुक्मिणी कोइराला, मोरङ ६ प्रदेशसभा (ख) का उम्मेदवार केदार कार्की, कांग्रेस नेतृ विन्ध्या कार्कीलगायतले स्वागत गरेका थिए ।
सो अवसरमा नेकपा (एकीकृत समाजवादी) का युवा नेता वसिम आलम, माओवादी केन्द्रकी नेतृ नमिता न्यौपाने, कांग्रेस मोरङ ६ प्रदेश (ख) का सचिव विमल राजभण्डारी, विराटनगर ६ का सभापति राम ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *