पोखरेललाई हराउँदा पौडेलमा नयाँ आशा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित हुन पुगेका प्रदीप पौडेलका लागि मंसिर ४ गतेको निर्वाचन फलदायी हुन पुगेको छ । पौडेलले आफूसँगका समकक्षी मान्दै आएका गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुँदा पराजयको पीडा भोग्नु परेको थियो । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा उनले नेकपा (एमाले) का स्थापित नेतालाई हराएर आफू स्थापित हुने कार्य गरेका छन् ।
विद्यार्थी राजनीतिबाट आएका पौडेल अहिले मनोनीत केन्द्रीय सदस्यमा सीमित छन् । उनले यो निर्वाचनमा एमालेका नेता ईश्वर पोखरेललाई पराजित गरेका हुन् । तनहुँ स्थायी ठेगाना भई सोही जिल्लाको राजनीतिमा लाग्दै आएका पौडेलले एमालेका स्थापित नेता पोखरेललाई काठमाडौं क्षेत्र नं.५ बाट पराजित गरेका हुन् ।
पौडेलले एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गरे । प्रदीपले १५,२३७ मत पाउँदा निवर्तमान सांसद समेत रहेका पोखरेलले १०,१७५ मत मात्र पाए । पोखरेल, प्रतिनिधिसभा निर्वाचन–२०७९ मा हार व्यहोर्ने एमालेका पहिलो पदाधिकारी हुन् । पोखरेल एमालेमा अध्यक्ष खड्गप्रसाद शर्मा ओलीपछिको वरियताका नेता हुन् ।
विद्यार्थी राजनीतिबाट आएका पौडेलको गृह जिल्ला तनहुँको क्षेत्र नम्बर २ हो । २०७४ मा पनि उनी तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्य लड्न चाहन्थे, तर प्रदेशसभा सदस्यको टिकट पाए । तनहुँ २ (१) मा उनी वाम गठबन्धनको साझा उम्मेदवार रहेकी माओवादी केन्द्रकी आशा कोइरालासँग पाँच मतान्तरले पराजित भएका थिए ।
कांग्रेसले काठमाडौं–५ मा राम्रो उम्मेदवार नपाएको अवस्थामा पौडेललाई कांग्रेसले अघि सार्दा जित निकाल्न सफल भएको हो । युवा नेता भएको आधार तथा पोखरेलको अलोकप्रीयताका कारण पनि पौडेललाई निर्वाचित हुन सहयोग पु¥याएको थियो । स्थानीय तहको निर्वाचनमा वडामा एमालेले १९,२२९ मत ल्याएको थियो । त्यसमाथि पोखरेलले २,७३९ मत भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समेत समर्थन जुटाएका थिए ।
पौडेल २०५३ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति र २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *