भक्तपुरमा थापाको सानदार जित

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा निकै चासोका साथ हेरिएको भक्तपुर क्षेत्र नं.२ मा नेपाली कांग्रेसले सानदार जित निकालेको छ । सो क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको स्थायी बसोबास रहेको निर्वाचन क्षेत्र रहेको तथा सो दलबाट उनका दाहिने हात मानिने महेश बस्नेत उम्मेदवार रहेका कारण पनि सो क्षेत्रलाई विशेष चासोका साथ हेरिएको थियो ।
अध्यक्ष ओलीले मतदान गरेको भक्तपुर निर्वाचन क्षेत्र नं.२ मा उनको मत खेर गएको छ । प्रतिनिधिसभाका लागि सो क्षेत्रबाट कांग्रेसका उम्मेदवार बनेका दुर्लभ थापाले सानदार जित निकालेका छन् । विहीबार विहान घोषणा भएको निर्वाचन परिणाम अनुसार थापाले ९५७ मतान्तरले आफ्नो विजयलाई पक्का गरेका हुन् । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन मत परिणाम अनुसार थापाले २४,२३९ मत पाएका हुन् ।
मतगणनको शुरुदेखि नै अग्रस्थानमा रहेका थापाले कुनै पनि गणनाको परिणाम सार्वजनिक हुँदा आफूलाई पछि पर्न दिएनन् । थापाले सबै पटक अग्रस्थानमा राखे पनि मतान्तर भने हरेक पटक एकदमै कम रहँदै आएको थियो । उनले बढीमा एक हजार पाँच सयदेखि घटीमा पाँच सय पैतालीसको मात्र मतान्तर राखे पनि कुनै पनि गणनामा आफूलाई तल पर्न दिएनन् ।
मतगणनाका दौरान एकदमै तीव्र प्रतिस्पर्धा रहेको अवस्थामा अन्तिम नतिजा पाउनका लागि अन्तिम मतपेटिकाको गणना गर्नैपर्ने अवस्था आएको थियो । ओलीका एकदमै प्रीय मानिने बस्नेत पूर्वमन्त्री समेत रहेका तथा सो क्षेत्रमा हुलल्डबाजी गर्न माहिर मानिने पात्र रहेका कारण पनि निर्वाचनको अन्तिम नतिजा आउँदासम्म पर्खनै पर्ने अवस्था आएको थियो । निवर्तमान सांसद समेत रहेका बस्नेतले आफ्नो जित निश्चित रहेको भनी हल्ला पिटाएका कारण पनि गठबन्धनमा रहेका दलहरु एकदमै सचेत भै निर्वाचनमा होमिएका थिए ।
खासगरी सत्ता गठबन्धनमा रहेका कांग्रेसका अतिरिक्त नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेता कार्यकर्ताहरुले पनि थापाको जितका लागि निक्कै नै प्रयास गरेका पत्रकार रमेश खड्का बताउँछन् । त्यसैगरी बस्नेतको दबदबालाई रोक्नका लागि भक्तपुर कांग्रेस एकढिक्का भएर मैदानमा उत्रिएको बताइन्छ । थापा कांग्रेसका भक्तपुर सभापति समेत हुन् । पहिलो पल्ट प्रतिनिधिसभाको निर्वाचनमा होमिएका थापा सधैं कांग्रेसको लागि खट्दै आएका राजनीतिज्ञ हुन् ।
बस्नेतलाई जिताउनका लागि भनी एमालेका नेता कार्यकर्ताहरुले जुनसुकै किसिमको हर्कत गरे पनि पार नलागेको बताइन्छ । निर्वाचनको मतदानका क्रममा एमालेका नेता कार्यकर्ताहरु आफ्नो ठाउँमा मतदाता भएका तर हाल यहाँ नरहेका व्यक्तिहरुको मतदाता परिचयपत्र तथा अन्य परिचयपत्र घर घरबाट उठाएर नक्कली मतदाता खडा गरी मतदान गर्नेसम्मको कार्य गरेका स्थानीय दिनेश श्रेष्ठ बताउँछन् । उनका अनुसार यस्तो कार्यका लागि एमालेको एउटा दस्ता नै सबै वडामा खटिएको थियो । यसरी बस्नेतका पक्षमा कम्तीमा पनि दुई हजार बढी मत ‘फर्जी’ रुपमा खसाउँदा पनि बस्नेतले जित्न नसकेको भनी उक्त दस्ताका कार्यकर्ताहरु अहिले ‘जति नै धाँधली गर्दा पनि सकिएन’ भनी भन्न थालेको समाचार स्रोतले दाबी गरेको छ ।
यस पटकको निर्वाचनमा हालै सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार गठबन्धनको विजय सुनिश्चित देखिए पनि बस्नेतका लागि भन्दै विभिन्न स्थानहरुमा छ महिना अघिदेखि भोजभतेर चलाउँदै आएका कार्यकर्ताहरुका कारण गठबन्धन दबाबमा थियो । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले समेत उम्मेदवारी दिएको उक्त क्षेत्रमा सो दलको चुनाव चिन्ह ‘घन्टी’ मा के कति मत जाने हो र त्यसमा गठबन्धनको बढी जानेमा त्रास रहेको बताइन्छ । सोही कारण पनि गठबन्धनका नेता कार्यकर्ता थापाको जितका लागि अन्तिमसम्म पनि प्रयासरत रहेको बताइएको छ ।
सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका साजन वि.क.ले ४,०१८ मत ल्याएका छन् । उता, नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेकी अनुराधा थापा मगरले ७,१२७ मत प्राप्त गरिन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका मोहन के.सी.ले २,५६९ मत ल्याएका छन् ।
यसैगरी सत्तारुढ गठबन्धनबाट भक्तपुर क्षेत्र नं.२ (ख) बाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभाका उम्मेदवार डा.राजेन्द्रमान श्रेष्ठ पनि विजयी भएका छन् । उनले ८,३४१ मत पाई विजयी हुँदा नेकपा (एमाले) का चन्दन कृष्ण श्रेष्ठ ८,०३१ मत ल्याई पराजित हुन पुगे ।
उता, प्रदेशसभातर्फ २ (क) मा भने कांग्रेसका उम्मेदवार विष्णराज कार्कीले भने हार व्यहोर्नु परेको छ । कार्कीले ११,९३५ ल्याउँदा एमालेका किरण थापा मगरले १५,२४२ मत ल्याएका छन् ।
यस्तै, भक्तपुर क्षेत्र नं.१ अन्तर्गतको एउटा प्रदेशसभामा पनि कांग्रेसका सुरेश श्रेष्ठले सानदार विजय निकालेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *