गगनको घोषणाले काँग्रेसमा भूकम्प

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ काँग्रेस महामन्त्री एवं प्रखर वक्ता गगनकुमार थापाले २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ‘ह्याट्रिक’ गरेका छन् । थापाले प्रतिस्पर्धी नेकपा (एमाले) का राजन भट्टराईलाई भारी मतले पराजित गरेका छन् ।
२०६४ को समानुपातिक सूचीबाट संसदमा प्रवेश गरेका थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट २०७०, २०७४ र २०७९ गरी तीनपटक प्रतिनिधिसभाको चुनाव जितेका छन् । राजनीतिमा निकै चतुर खेलाडीका रुपमा चिनिने थापा गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा विजयी भएपछि संसदीय दलको नेता र प्रधानमन्त्रीमा दाबी गर्ने बताएका छन् । चुनावको अन्तिम परिणाम नआउँदै भावी प्रधानमन्त्रीको आकांक्षा गरेपछि काँग्रेसका पहिलो पुस्ताका नेताहरु धर्मसंकटमा परेका छन् । खासगरी अहिले काँग्रेसमा पहिलो पुस्ताका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला र प्रकाशमान सिंहले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका छन् ।
काँग्रसमा २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका प्रधानमन्त्री देउवा फेरि छैटौं पटक प्रधानमन्त्री बन्ने तयारीमा जुटेका छन् । काँग्रसमा पुस्तान्तरणको कुरा उठाउने युवा नेताहरु विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतका नेताहरुको आगमनले देउवाले सोचेजस्तो नहुने काँग्रेसका जानकारहरुले बताएका छन् । निर्वाचनमा गठबन्धनमा रहेका दलहरु र राष्ट्रिय स्वतन्त्र पार्टीको हैसियतले गठबन्धनको सहयोगमा देउवा नै पुनः प्रधानमन्त्री बन्न सक्ने चर्चा चलेको छ । टिकट वितरणदेखि समानुपातिक सूचीमा देउवाले आफूलाई अनुकूल हुने गरेर टिकट वितरण गरेकाले गगनले टक्कर दिए पनि संसदीय दलमा हराउन नसक्ने काँग्रेसीहरुको कथन छ ।
नेतृत्व परिवर्तनका लागि पौडेल, सिंह र कोइराला एक ठाउँमा उभिएर युवा नेताहरुको र परिवर्तनकारीका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले साथ दिए गगन भावी प्रधानमन्त्री बन्न सक्ने अनुमान गरिएको छ । काँग्रेसमा शंकर भण्डारी, रामहरि खतिवडा, दुर्लभ थापा, मोहनबहादुर बस्नेत, राजु थापा, धनराज गुरुङ लगायतका युवा नेताहरुले नेतृत्व परिवर्तनका लागि दबाब सिर्जना गर्नुपर्ने देखिन्छ ।
यता, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गगनकुमार थापालाई साथ दिने बताएपछि तीन नेता सिंह, पौडेल र देउवा मिलेर जानुपर्ने भन्दै छलफलमा जुटेको समाचार स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *