कांग्रेसलाई सत्ताविहीन बनाउने को–को ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/२०७८ असार २९ गते मुलुकको ४४ औं प्रधानमन्त्री बनेका शेरबहादुर देउवा आफ्नै ‘किचन क्याबिनेट’ का सदस्यहरुको हठले सत्ताच्यूत भएका छन् ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनका कारण काँग्रेसले ८९ सिट प्राप्त गरी ठूलो दल बनेको थियो । ७८ सिट नेकपा (एमाले) ले र ३२ सिट नेकपा (माओवादी केन्द्र) ले पाएको थियो । पाँच दलीय गठबन्धनमा काँग्रेस र माओवादी केन्द्र बाहेक नेकपा (एकीकृत समाजवादी) ले १० र राष्ट्रिय जनमोर्चाले १ सिट प्राप्त गरेका थिए ।
गठबन्धनमा पछि सामेल भएको लोकतान्त्रिक समाजवादी पार्टीको चार सिट हुँदा पनि गठबन्धनलाई कूल एक सय ३६ सिट मात्र प्राप्त भै २ सिट पुगेको थिएन । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष १० गते साँझ ५ बजेसम्मको समय दिएकी थिइन् । यसबीचमा पहिला प्रधानमन्त्री को बन्ने भन्ने विवादले बालुवाटार बैठक निष्कर्षविहीन बनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको निवास बालकोट पुगेर एक सय ६९ जना सांसद्को समर्थनमा तेस्रो पटक मुलुकको ४५औं प्रधानमन्त्री बन्न पुगेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले काँग्रेसलाई राष्ट्रपति र सभामुख दिएर प्रधानमन्त्री आफू बन्ने प्रस्ताव राखेका थिए । देउवा गुटका भजनमण्डलीहरु खासगरी प्रकाशरण महत, आरजु राणा देउवाको सत्तालिप्सा, जिद्धी एवं हठले प्रधानमन्त्री नछाड्ने बताएपछि काँग्रेस प्रतिपक्ष बन्न पुगेको जानकारहरुले बताएका छन् । काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बाइपास गरेर देउवाका भजनमण्डलीहरुले २३ सिटमा खुम्चिएको काँग्रेसलाई गठबन्धन गरी प्रधानमन्त्री बनाएको कुरा विर्सिएपछि सबैथोक गुमाएको काँग्रेसीहरुले जानकारी दिएका छन् ।
यो कर्ममा वरिष्ठ नेता रामचन्द्र पौडेल (राष्ट्रपति बन्ने सपना), रमेश लेखक, एन.पी. साउद, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्कीले ‘हो मा हो’ मिलाएको चर्चा चलेको छ । देउवाले भूँइको टिप्न खोज्दा खल्तीको पनि गुमाएपछि अहिले भजनमण्डली बाहेकका काँग्रेस नेता तथा कार्यकर्ताहरुको चर्को आलोचना खेप्न बाध्य भएकाछन् ।
सत्ता गए पनि शक्ति नगएको अवस्थामा काँग्रेसका युवा नेताहरुले जिम्मेवार बनेर संगठन निर्माणमा जोड दिनुपर्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *