एसका कर्मचारी महाधिवेशनतिर

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सरकारमा जाने नजाने भनी दोधारे अवस्थामा रहेको नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठन भने महाधिवेशनमा जाने भएका छन् । उनीहरुले आगामी फागुन २६ र २७ मा काठमाडौंमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने भएका हुन् ।
सो राष्ट्रिय अधिवेशनको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबाट उद्घाटन गराउने तयारी गरिएको सङ्गठनका संयोजक मोहन घिमिरेले जानकारी दिए । अधिवेशनमा कर्मचारी ट्रेड युनियनका क्षेत्रमा देखिएका चुनौती तथा समाधानका विषयमा अन्तर्राष्ट्रिय तहमा भइरहेका अभ्यासबारे छलफल हुने बताइएको छ । विगत छ वर्षदेखि ऐनको अभावमा कर्मचारीको समायोजन, स्तरोन्नति र पदपूर्ति हुन नसकेकाले अविलम्ब निजामती सेवा ऐन ल्याउन माग गर्दै सङ्गठनले गर्दै आएको छ । अस्थायी तथा करारमा कार्यरत कर्मचारीलगायत अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराई महंगीभत्ता उपलब्ध गराउन सरकारसँग आग्रह पनि उक्त संगठनले गर्दै आएको छ ।
ऐन नहुँदा संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबीच देखिएको अन्योलका कारण आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनसकेको छैन । कुन तहका कर्मचारीलाई मतदाताका रूपमा पहिचान गर्ने तथा नेतृत्वका लागि छनोट गर्ने भन्ने समस्याका कारण त्यस्तो भएको हो । संगठनको हालै सम्पन्न बैठकले प्रदेशअन्तर्गतका अन्तरस्थानीय तहमा कर्मचारीको सरुवा गर्दा निश्चित मापदण्ड बनाउनुपर्ने, महिला कर्मचारीलाई प्रसूतिका बेलामा एक वर्ष तलबी बिदा दिनुपर्ने माग गरिएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *