अर्थतन्त्रको मन्दीबारे आईएमएफको चिन्ता

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रमुखले सन् २०२३ मा विश्वव्यापी अर्थतन्त्रको एक तिहाई अर्थतन्त्र मन्दीमा पर्ने चेतावनी दिएका छन् । आईएमएफका निर्देशक क्रिस्टालिना जर्जिएभाले अमेरिका, ईयू र चीनले आफ्नो अर्थतन्त्र सुस्त भएको देख्दा सन् २०२३ गत वर्षभन्दा तुलनात्मक रुपमा ‘कठिन’ हुने बताएकी छिन् ।
युक्रेनमा युद्ध, बढ्दो मूल्यदर, उच्च ब्याज दर र चीनमा कोभिड १९ को फैलावटले विश्वव्यापी अर्थतन्त्रमा भार बढाइरहेका बेला आईएमएफले यस्तो चेतावनी दिएपछि विश्वव्यापी रुपमा अर्थतन्त्रबारे चिन्ता बढेको छ ।
२०२२ को अक्टोबरमा आईएमएफले सन् २०२३ को लागि आफ्नो विश्वव्यापी आर्थिकवृद्धिको प्रक्षेपण घटाएको थियो । ‘मन्दीमा नभएका देशहरूका पनि करोडौं मानिसहरूले मन्दी जस्तो महसुस गर्नेछन्,’ उनले भनेकी छिन् । सिड्नीको मुडिज एनालिटिक्सकी अर्थशास्त्री क्याट्रिना एलले बीबीसीसँग बोल्दै विश्व अर्थतन्त्रबारेको आफ्नो मूल्याङ्कनबारे जानकारी दिएपछि विश्व अर्थतन्त्रका लागि यो वर्ष राम्रो नहुने पो हो कि भनी विश्वव्यापी रुपमा चिन्ता बढेको छ ।
मन्दीको मारमा युरोप नउम्कने भन्दै अमेरिकाको छेउछाउ पनि यसको मारमा पर्ने प्रक्षेपण गरिएको छ । आईएमएफले गत अक्टोबरमै २०२३ मा युक्रेनमा युद्ध र उच्च ब्याज दरहरूका कारण विश्वभरका केन्द्रीय बैंकहरूले बढ्दो मूल्यमा लगाम लगाउने प्रयास गर्दा विश्वव्यापी आर्थिक वृद्धि घट्ने प्रक्षेपण गरेको थियो । जर्जिएभाले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सन् २०२३ मा कठिन शुरुवातको सामना गर्ने चेतावनी दिएकी छिन् ।
आगामी दुई महिना चीनको लागि कठिन हुने र चिनियाँ वृद्धिमा प्रभाव नकारात्मक हुने, क्षेत्रीय प्रभाव नकारात्मक हुने, विश्वव्यापी वृद्धिमा पनि प्रभाव नकारात्मक हुने विश्लेषण उनले गरेकी छिन् ।
आईएमएफमा एक सय ९० देशहरु सदस्यका रुपमा रहेको एक अन्तर्राष्ट्रिय संगठन हो । यी सदस्य राष्ट्रहरुले विश्वव्यापी अर्थतन्त्रलाई स्थिर बनाउने प्रयासमा सँगै काम गर्ने गर्छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *