तनाव हटाउन भौतिकमन्त्रीको दौडाहा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका नारायणकाजी श्रेष्ठ मुटुमाथि ढुंगा राखी हास्न बाध्य भएका छन् । तात्कालीन अवस्थामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) मिलेर बनेको नेकपा हुँदा छैटौं नम्बरमा रहेका श्रेष्ठ अहिले वरियतामा तेस्रो नम्बरमा परेका छन् ।
दोस्रो नम्बरमा रहेका उपप्रधान तथा अर्थमन्त्री नेकपा एकीकरण हुँदा नवौं नम्बरमा परेका थिए । वरियतामा पौडेलभन्दा तल परेपछि मन्त्री श्रेष्ठ शपथ ग्रहण गरेपछि मन्त्रालयमा पद बहाली गरेर ठुस्सिएर गर्धन हाली चारदिन मन्त्रालय नै गएनन् । रुघा, खोकी र घाँटी दुखेको बाहना बनाएर घरमै बसे । माओवादी केन्द्रका नेता गणेश साहले मन्त्री नखाए अरु जान तयार रहेको बताएपछि मन्त्री श्रेष्ठले गत पुष १७ गते (नयाँ वर्ष जनवरी १) देखि लुत्रुक्क हुँदै मन्त्रालय गएको समाचार स्रोतले बताएको छ ।
विहानैदेखि मन्त्री श्रेष्ठ मन्त्रालय जान थालेपछि ढल्किँदै–ढल्किँदै ११ बजेसम्म मन्त्रालय पुग्ने गरेका सचिव, सहसचिव र अन्य कर्मचारीहरु तनावमा परेको भुक्तभोगीहरुले बताएका छन् । पुरातन शैलीमा चल्ने गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई मन्त्री श्रेष्ठले परिवर्तन गर्नका लागि सचिव र विभागीय प्रमुखहरुसँग ब्रिफिङ्ग सकेर दौडामा निस्किएका छन् ।
यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तर्गत यातायात कार्यालय एकान्तकुना लगायतका ठाउँमा मन्त्री श्रेष्ठको अनुगमन जारी नै छ । कर्मचारी र विचौलियाको सेटिङ्गमा भैरहेको सवारी चालक अनुमतिपत्र, ट्रायललगायतका क्षेत्रमा बिचौलिया (दले) हाबी हुँदा सेवाग्राही मर्कामा पर्दै आइरहेका छन् । यसतर्फ प्रदेशसँग समन्वय गरी मन्त्री श्रेष्ठले सेवाग्राहीको मर्का बुझ्लान कि नबुझ्लान त्यो भने हेर्न बाँकी नै छ ।
यता, मन्त्री श्रेष्ठले १५ दिनभित्रमा काठमाडौं उपत्यका र १ महिनाभित्र काठमाडौं बाहिरका सडकको खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन् । सुशासन र विकासको पक्षमा काम गर्न खोजेको मन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी एवं शैलुङ्ग कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको दादागिरी हटाउन सक्लान त भन्ने पनि चर्चा चलेको छ ।
शैलुङ जस्ता दर्जनौं ठेक्का अलपत्र पार्ने ठग ठेकेदार तथा कामचोर र कमिशनखोर सु.ई. सिडिई तथा डिभिजन प्रमुखहरुलाई ‘एक्सन’ लिन्छन् कि लिँदैनन्, त्यो भने हेर्न बाँकी नै छ । मन्त्रालयमा श्रेष्ठको आगमनले सबैको मुटुमा ढ्याङ्ग्रो ठोकेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *