एमाले हुत्याउने काँग्रेसको रणनीति सफल होला ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसको नेतृत्वले गल्ती गर्दा नेताहरु अप्ठ्यारोमा परेका छन् । अब जनता सामु कुन मुख लिएर जाने र के भन्ने चिन्ताले रुमल्लिएका छन् । मतदाताले ठूलो दल बनाएर पठाउँदा पनि काँग्रेस प्रमुख प्रतिपक्ष दल बन्न सकेन । रातारात कित्ता परिवर्तन गरेर गठबन्धनबाट बाहिरिएको दल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकाएक विश्वासको मत दिने निर्णयले अझै पनि झर्ला र खाउँला भन्ने सत्ता लिप्सामा काँग्रेस रहेको जानकारहरुले बताएका छन् ।
विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको काँग्रेस यतिबेला चौतर्फी आलोचित बनेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा एण्ड भजनमण्डलीहरुको निर्णयप्रति काँग्रेसभित्र खैलाबैला मच्चिएको छ र निष्ठावान् काँग्रेसीहरुको तेजोबध भएको छ ।
२८ वर्षअघि २०५१ सालको नजिर काँग्रेसले दोहो¥याएको छ । तात्कालिन एमाले अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीलाई काँग्रसले विश्वासको मत दिएर पद जोगाइदिएको थियो । त्यतिबेला २०५१ सालमा मनमोहन अधिकारीलाई विश्वासको मत दिँदा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला थिए । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गर्दा सभापति शेरबहादुर देउवा छन् ।
२८ वर्षको अन्तरालमा काँग्रेसले विश्वासको मत दिँदा प्रधानमन्त्री पदमा कम्युनिष्टकै नेता परेका छन् । २०५१ मा अल्पमतको सरकार थियो भने अहिले काँग्रेसले विश्वासको मत नदिँदा पनि एक सय ६९ सांसदको समर्थन दाहाललाई रहेको छ । प्रधानमन्त्री अधिकारीलाई त्यतिबेला एक सय ९८ जना सांसदको समर्थन रहेको थियो भने अहिले पुष्पकमल दाहालले कूल दुई सय ७५ मध्ये दुई सय ६८ सांसदको मत पाएर ९९ प्रतिशत नघाएका छन् ।
काँग्रसका ८९ जना सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् भने सांसद मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत अनुपस्थित रहेको संसद सचिवालय श्रोतले बताएको छ । जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले मतदानमा भागै लिएनन् । गत पुष २६ गते विश्वासको मत दिने बेलामा १२ राजनीतिक दल र तीन स्वतन्त्र सांसदहरुको उपस्थिति रहेको थियो ।
अब काँग्रेसले विश्वासको मत दिएपछि प्रतिपक्ष दलको बेञ्चमा दुई जनामात्र रहने श्रोतले बताएको छ । काँग्रेसभित्रको देउवा रणनीतिले एमाले अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीलाई साइजमा ल्याउन गरिएको प्रयास सफल हुनेमा शंका उत्पन्न भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *