गृहमन्त्रीलाई सांसद कोइरीको चुनौती

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका संघीय सांसद लक्ष्मी महतो कोइरी पक्राउ पर्न सकेका छैनन् । जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भइसकेका महोत्तरीका सांसद कोइरी अहिले निर्वाध रुपमा नियमित काम गरिरहे पनि उनलाई पक्राउ गर्न नसकिनुमा उनको राजनीतिक पहँुचले काम गरेको चर्चा छ । कोइरीले गृहमन्त्री लामिछानेलाई चुनौती दिएको चर्चा छ ।
सांसद् महतो प्रशासन तथा प्रहरीको आँखा अगाडि नै सार्वजनिक रुपमा रही चुनौती दिइरहेका बताइएको छ । सांसद पदको शपथग्रहणदेखि प्रधानमन्त्री पुष्पकमद दाहाललाई विश्वासको मत दिँदासम्म महतो पक्राउ पर्न नसकेका अवस्थालाई ‘सानालाई ऐन, ठूलालाई चयन’ भन्ने भनाइसँग दाँज्न थालिएको छ ।
तराईमा चलेको मधेश आन्दोलनको समयमा लखेटी–लखेटी घाइते बनाएर उपचार गर्न लैजाने क्रममा एम्बुलेन्सबाट नै निकालेर सुरक्षाकर्मी थमन विकलाई हत्या गरेको आरोप उनीमाथि छ । उच्च अदालत जनकपुरले २०७७ मा महतोलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । २०७७ देखि फरार रहेका महतो २०७९ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का तर्फबाट विजयी भएका हुन् । निर्वाचन आयोगबाट हस्तान्तरण गर्ने प्रमाणपत्र समेत वारेसमार्फत नै बुझेका महतो प्रहरीको आँखा छल्दै शपथग्रहण लिनसमेत सफल भएको समाचार सूत्रले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयले काँग्रेसबाट निर्वाचित सांसद् टेकबहादुर गुरुङ र महतोलाई संसदीय गतिविधिमा सम्लग्न नगराउन पत्राचार गरे पनि कोइरी भने निरन्तर सम्लग्न रहँदै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *