उप–प्रधान तथा ऊर्जामन्त्रीलाई परदेशी भाइको पत्र

Nayabimarsha (Weekly Newspaper from Nepal)

श्री राजेन्द्रप्रसाद लिङ्देन
माननीय उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री
सर्व प्रथम त दाजु हाम्रो देशको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक हार्दिक बधाई तथा उत्कृष्ट कार्यकालको शुभकामना !
अहिले तपाईं हाम्रो देशको ऊर्जामन्त्रीमा नियुक्त हुनु भएको छ । सामान्यतया यो मन्त्रालय गृह तथा अर्थ लगायतका मन्त्रालयहरुको तुलनामा कुनै दल वा सांसदका लागि कम रोजाईमा पर्ने मन्त्रालयको रुपमा पर्ने गरेको मैले मानेको छु ।
वास्तवमा हाम्रो देश तथा यो देशका हरेक आमजनताको आर्थिकस्तर बलियो बनाउने पक्षमा होस् वा आफ्नै देश भित्र रोजगारीका अवसरहरु सिर्जना गरेर हाम्रो देशका युवा जनशक्तिलाई खाडी मलेसिया लगायतका देशहरुमा पलायन हुनबाट रोक्ने कार्यका लागि यो मन्त्रालयको महत्व महत्वपूर्ण देखिन्छ । यसैगरी युवाहरुलाई स्वरोजगार तुल्याउने पक्षमा होस् अथवा अत्यन्तै कमजोर अवस्थामा रहेको हाम्रो देशको अहिलेको आर्थिक अवस्थालाई चामत्कारिक शैलीमा रूपान्तरण गर्न सकिने मन्त्रालयको रुपमा यो मन्त्रालयलार्ई मैले पाएको छु ।
यो देशका घरहरु मात्र उज्यालो बनाउने हैन ती घरहरुमा बस्ने हरेक नागरिकको मन र मुहार पनि उज्यालो बनाउने पक्षमा होस् तपाईको कार्यकाल भन्ने मलाई लागेको छ । यस्ता अत्यन्तै महत्वकांक्षी लक्ष्यहरु पूरा गर्ने सवालमा सबै मन्त्रालयहरुमध्ये सबैभन्दा महत्वपूर्ण भूमिका यदि कुनै मन्त्रालयको हुनसक्छ भने त्यो ऊर्जा मन्त्रालय नै हो भन्ने मेरो बुझाइ रहेको छ ।
विज्ञहरु भन्नु हुन्छ, जलस्रोत भनेको जलविद्युतमात्र होइन । जलस्रोतभित्र विद्युतका अतिरिक्त सिञ्चाइ, खानेपानी, डुबान, बाढी नियन्त्रण जस्ता विषयहरु पनि पर्दछन् । सिँचाइको अभाव तथा युवा श्रमशक्तिको विदेश पलायनका कारण हाम्रो देशको खेतीयोग्य जमिनको ठूलो हिस्सा आज बाँझै रहने गरेको छ । हाम्रो देशलाई भन्नका लागि ‘कृषिप्रधान देश’ भनिन्छ तर खाद्यान्न, तरकारी, फलफूल तथा मासुजन्य सामाग्रीहरु भने भारत लगायतका देशहरुबाट आयात गरिन्छ ।
मुख्यतः ठूलो परिमाणमा पेट्रोलियम पदार्थको आयात गर्नुपर्ने भएकाले हाम्रो देशको व्यापारघाटा हरेक वर्ष निरन्तररुपमा चुलिँदै गएको छ । देशको यो बढ्दो व्यापारघाटालाई प्रतिस्थापन गर्दै द्रूत रूपमा समृद्धि हासिल गर्नका लागि जलविद्युत तथा कृषि उत्पादनमा जोड दिनुको अलावा हाम्रो देशमा अर्को कुनै उत्कृष्ठ विकल्प होला जस्तो कमसेकम मलाई भने लाग्दैन ।
नेताहरुले हाम्रो देशमा पानीजहाज, विद्युत–रेल, मोनोरेल सञ्चालनका सपना देखाए पनि, यस्ता सपनाहरु साकार पार्ने दिशातर्फ अहिलेसम्म कुनै ठोस काम हुन सकेको देखिँदैन ।
हाम्रो देश जलस्रोतका हिसाबले सबैभन्दा धेरै सम्भावना भएका देशहरुमध्येमा पर्छ । हाम्रो देशमा जलविद्युत् उत्पादनको अपार सम्भावना हुँदाहुँदै पनि जलविद्युत उत्पादनका निम्ति आवश्यक नीतिगत व्यवस्था तथा यसका लागि राज्यले निर्वाह गर्नुपर्ने भूमिका सन्तोषजनक नहुँदा देशको आर्थिक उन्नतिको सबैभन्दा ठूलो स्रोत वर्षौंदेखि त्यतिकै खेर गइरहेको छ भनेर विज्ञहरुले भन्ने गरेका छन् ।
उपलब्ध जलस्रोतको भरपूर उपयोग गरेर देशमा कायापलट गर्न सकिन्छ भन्ने कुरा २०४६ सालपछि हाम्रो देशमा हरेक साना–ठूला राजनीतिक दलहरुले उठाउँदै आए पनि, राजनीतिक दल तथा तिनका नेताहरुको बोली र व्यवहारमा आजसम्म कुनै किसिमको तालमेल देख्न सकिएको छैन । बरु हरेक दल तथा नेताले अहिलेसम्म जलस्रोतलाई सत्तामा चढ्ने सिँढिको रूपमा मात्र प्रयोग गर्ने गरेको देखियो ।
एउटा तीतो सत्य के हो भने, ४६ सालपछि बनेका सरकारले कमसेकम हाम्रो देशमा अत्यन्तै सहज रुपमा उपलब्ध जलस्रोतको मात्र पनि सही उपयोग गर्ने दिशातर्फ इमान्दार भएर काम गर्न सकेका भए आज हाम्रो देश संसारका समृद्ध राष्ट्रहरुमध्येको एउटा राष्ट्र बनिसकेको हुने थियो । खाडी देशहरू आज तेल र ग्यास बेचेर समृद्ध बनेका छन् त्यसरी हाम्रो देश जलस्रोतका कारण समृद्ध बन्न सक्ने थियो ।
पुरानो शोधअनुसार नेपालका नदीहरुबाट ८३ हजार मेगावाट विद्युत उत्पादन हुनसक्ने भनिएको भए पनि, अहिले जलस्रोतको क्षेत्रमा काम गरिरहेका केही संस्थाहरुले नेपालमा दुई लाख मेगावाट विद्युत उत्पादनको सम्भावना रहेको कुरा सार्वजनिक गरेका छन् । खैर, नेपालमा आर्थिक रूपले सम्भाव्य आयोजनाहरूको क्षमता पनि ४२ हजार मेगावाटभन्दा पनि बढी रहेको भनेर भनिएको छ ।
चालु आर्थिक वर्षको शुरुवातमा नेपाल विद्युत् प्राधिकरणले नेपाली बीबीसी न्यूजलाई उपलब्ध गराएको जानकारी अनुसार नेपालको जडित विद्युत् उत्पादन क्षमता २,१९० मेगावाट रहेको छ । हाम्रो देशको आन्तरिक बजार माग भने १,६०० देखि १,७०० मेगावाटको हाराहारीमा रहेको कुरा उल्लेख छ । (सुक्खा याममा उत्पादन घट्ने हुनाले, अपुग विद्युत् भारतसँंग किन्ने गरिएको छ ।)
यसै गरेर विभिन्न निकायमार्फत् कुल २७,७८० मेगावाट विद्युत् उत्पादन क्षमता रहेका आयोजनाहरू अघि बढाइएको कुरा पनि विद्युत् प्राधिकरणले उल्लेख गरेको छ ।
यो तथ्याङ्कलाई हेरेर के अनुमान लगाउन सकिन्छ भने, अहिले निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् परियोजनाहरु छिटोभन्दा छिटो पूरा गर्नका लागि आवश्यक निगरानी तथा सहजीकरण गर्दै एउटा निश्चित लक्ष्य राखेर अगाडि बढ्न सक्ने हो भने आगामी १–२ वर्ष भित्रैमा नेपाल विद्युतमा सम्पूर्ण रुपले आत्मनिर्भर बन्ने देखिन्छ । यस्तो अवस्थाम सुक्खा याममा पनि विद्युत् निर्यात गर्ने सक्ने अवस्थामा पुग्न सक्ने रहेछ ।
देशमा विद्युत उत्पदन बढे संँगसँंगै उत्पादित विद्युतलाई निर्यात गर्नका लागि निर्माणाधीन अवस्थामा रहेका प्रसारण लाइनका कामहरु सकेसम्म चाँडै सम्पन्न गराउने तथा आवश्यक अन्य नयाँ प्रसारण लाइनहरु निर्माण गराउने लगायत विद्युत व्यापार विस्तार गर्नका लागि भारत, बंगलादेश लगायतका छिमेकी मुलुकहरुसँग कुराकानी गरेर आवश्यक व्यवस्था मिलाउने विषय चुनौतिपूर्ण त छ, तर असम्भव छैन ।
यो सबै त्यतिखेरसम्म सम्भव हुन सक्दैन जबसम्म निजी क्षेत्रका सम्बन्धित साझेदार, सम्बन्धित सरकारी कर्मचारी र सम्बन्धित मन्त्री सबैले आ–आफ्ना निहित स्वार्थहरुलाई त्यागेर सिङ्गो राष्ट्र र जनताको हितमा काम गर्न प्रतिबद्ध हँुदैनन् । अन्यथा १–२ वर्ष भित्रमा पूरा हुन सक्ने काम र परियोजानहरु पूरा हुनलाई दशौं वर्ष लाग्ने गरेका कयौँ उदाहरणहरु हाम्रा सामु जिउँदै छन् ।

खैर, आज यो देश र जनताको भाग्य आफ्नै जीवनकालमा परिवर्तन गरेरै छाड्छु भन्ने एउटा बलियो इच्छाशक्ति बोकेको तपाईं जस्तो अत्यन्तै कर्मठ नेतालाई अहिले हाम्रो देशको उप–प्रधान सँंगसँंगै ऊर्जा, जलश्रोत तथा सिँचाई जस्तो अत्यन्तै महत्वपूर्ण मन्त्रालयको पनि नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । अब तपाईं बोल्ने भन्दा पनि, तपाईंको काम बोल्नु पर्छ । अब हामी हाम्रो राजेन्द्र दाजुले यस्तो भन्नु भयो भनेर लेख्न भन्दा पनि ऊर्जामन्त्री बन्नु भएको हाम्रो दाजुले यस्तो काम गर्नुभयो वा यस्तो काम गर्दै हुनुहुन्छ भनेर लेख्न, सुनाउन चाहन्छौँ ।
दाजु ऊर्जामन्त्री बन्नु भएसँंगै न त हामीलाई अब कुनै प्रकारको शंका गर्ने ठाउँ छ, न त दाजुलाई कुनै बहाना गर्ने छुट नै । अधर्मका विरुद्ध अर्जुनले महाभारतको युद्धमा जसरी सम्पूर्णरुपमा निस्वार्थ भएर लडेका थिए, दाजुले पनि अब हाम्रो देशमा गणतन्त्रका नाममा हुने गरेका सबै प्रकारका भ्रष्टाचार, प्रशासनिक अपचलन, राजनीतिक विकृति लागायतका अनेकौँ बेथिति र विसङ्गतिहरुका विरुद्ध लड्नु पर्छ । हामीलाई विश्वास छ दाजुले यो लडाईं जित्नु हुनेछ । अब दाजुलाई हार्ने छुट छैन पनि ।
यो पत्रमा मैले छुटाउन नमिल्ने एउटा कुरा छ, त्यो हो दाजुले परिकल्पना गर्नु भएको एउटा विकासको नमूना, दाजुले देख्नु भएको विकासको एउटा सपना । जुन सपनाका बारेमा दाजुले पाँच वर्ष पहिला एउटा टेलिभिजन अन्तर्वार्तामा चर्चा गर्नु भएको थियो, त्यो सपना दाजुलाई यहाँ स्मरण गराउन चाहन्छु । दाजुले भन्नु भएको थियो “मेरो निर्वाचन क्षेत्रमा रहेका मेची, बिरीङ जस्ता ठूला नदीहरुको किनारै किनार ठूल्ठूला तटबन्धनहरु बनाउने । त्यसै माथिबाट दोहोरो मोटर कुद्ने बाटो पनि बनाउने । त्यहाँ हजारौँ बिघा जमिन निस्कन्छ । त्यो जमिनका लागि राज्यले एउटा नीति बनाउने, जसले दुई हजारभन्दा बेसी मान्छेहरुलाई रोजगार दिने उद्योग खोल्न आउँछ, उसलाई उक्त जमिन उपलब्ध गराइदिने । उसको उद्योगसम्म पुग्ने मोटर बाटो तथा बिजुली पु¥याई दिने ।
ऊसंँग २५ वर्षसम्म स्थानीय कर नलिने । उसलाई बिजुली पनि सहुलियत दरमा दिने । यसरी खोलिएका उद्योगहरुमा राजनीतिक दलले युनियन खोल्न नपाउने व्यवस्था मिलाउने । अन्तर्राष्ट्रिय प्रचलन अनुसार मजदुरहरुले सेवासुविधा पाएको छ कि छैन भनेर सरकार तथा स्थानीय तह आफैंले हेर्ने व्यवस्था मिलाउने । यस्तो व्यवस्थाका साथ देशी विदेशी कम्पनीहरुलाई उद्योग सञ्चालनका लागि आव्हान गर्ने र ती उद्योगहरुमा हाम्रै क्षेत्रका भाइबहिनी छोराछोरीहरुलाई काम गर्ने वातावरण बनाउन पाए कस्तो हुन्थ्यो होला ?’’
अझै पनि चुनौतिहरु त धेरै नै छन्, तर पनि अहिले दाजुलाई आपूmले देखेको यो सपना पूरा गर्ने अवसर प्राप्त भएको हामीले मानेका छौँ ।
अन्त्यमा, तपाईंसँंग चुनावका बेला तपाईंलाई मत दिनेहरुको मात्र हैन, तपाईंलाई मत नदिनेहरुको पनि उत्तिकै ठूलो आशा र विश्वास छ । यी सबै आशा र विश्वासहरु कहिल्यै पनि निराशामा परिणत हुने छैनन् भन्ने विश्वास र शुभकामनाका साथ तपाईंको यो परदेशी भाइ विदा माग्दछु । नमस्कार !
रमेश ढकाल (झापा, हालः दोहा–कतार)

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *