भुसालपछि गौतम र रावल भित्र्यउँदै नेकपा एस

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (एमाले) सँग विद्रोह गरेर गठन भएको नेकपा (एकीकृत समाजवादी) ले घनश्याम भुसाललाई पनि भित्र्याएको छ । भुसाललाई भोली बस्ने बैठकले महासचिव बनाउने र महासचिव डा. बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने बताइएको छ । भुसाल गत निर्वाचनमा रुपन्देहीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनावमा पराजित भएका नेता हुन् । आफ्नो विचार र कार्यशैलीप्रति असहमति जनाउनेहरुलाई एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले करौँती चलाउँदै आइरहेका छन् ।
ओलीको विपक्षमा खरो रुपमा उफ्रने नेता भीमबहादुर रावल पनि आँखाको कसिंगर बनेपछि गत मंसिर ४ गतेको निर्वाचनमा अछामबाट टिकट नै पाएनन् । उनी पनि भुसालजस्तै बौद्धिक क्षमता भएका नेता हुन् । २०४८ सालदेखि लगातार अछामबाट चुनाव जित्दै आएका रावलले यस पटक ओलीको उछितो काढ्दा न पार्टीमा गतिलो जिम्मेवारी पाए न टिकट । त्यसैले उनलाई नेकपा (एस) मा भित्र्याउने तयारी भै रहेको जानकारहरुले बताएका छन् ।
त्यसैगरी एमालेका कुनै बेलाका शक्तिशाली नेता बामदेव गौतम पनि यतिबेला पखेटा नभएको पंक्षीजस्तो बन्न पुगेका छन् । नेकपा हुँदा नौजना भित्र रहेका गौतमलाई एमाले अध्यक्ष ओलीले नै पंगु बनाएको आरोप लागेको छ । विभिन्न जिल्लाबाट संघीय निर्वाचन लड्ने आकांक्षा पूरा नभएपछि राष्ट्रियसभा सांसद बनेर गौतम मनको बिलौना पोख्दै आइरहेका छन् । यिनै राष्ट्रियसभाका सांसद गौतमलाई पनि नेकपा (एस) मा भित्र्याउन वार्ताहरु भैरहेको छ ।
नेकपा (एस) मा जानका लागि नेता गौतमले चारवटा शर्त राखेको समाचार स्रोतले बताएको छ । नेकपा एमालेमा भूमिकाविहीन बनेका नेताहरु विस्तारै नेकपा एसतिर ढल्कने क्रम बढ्न थालेपछि एमालेमा गतिला नेताहरुको खडेरी पर्ने र ओलीको चाकडी गर्नेहरु मात्र बाँकी रहने बताइएको छ । एमालेमा ईश्वर पोख्रेल, शंकर पोख्रेल र प्रदीप ज्ञवाली जस्ता क्षमतावान् नेताहरु चुनाव हार्दा एमालेले मुटुमाथि ढुंगा राखी हाँस्नुपर्ने अवस्था आएको एमाले वृत्तमा चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *