भौतिक मन्त्री श्रेष्ठलाई जनताले पारे र्‍याखर्‍याख्ती

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौैं/ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई सडक अनुगमन गर्न नगरकोट पुगेका बेला स्थानीयवासीले र्‍याखर्‍याख्ती पारेका छन् ।
भक्तपुरको कमल विनायक भत्केकेको पाटीदेखि नगरकोटसम्मको सडक नौ वर्षसम्म पनि नबनेपछि जनता आक्रोशित बन्न पुगेका छन् । उक्त सडक शैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद (घरबेटी ठेकेदार) ले ठेक्का लिएका थिए । सन् २०१४ मा सम्झौता भएको कमल विनायक नगरकोट सडक भारतीय लगानीमा बनेकाले सडकको अवस्था बारेमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई पनि अनुगमनमा लगिएको थियो ।
सात पटक म्याद थपेर निर्माण सम्पन्न हुन नसकेको उक्त सडक तात्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पनि समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएर मन्त्री पदबाट हटेकी थिइन् । एक महिनाभित्र गुणस्तरीय सडक निर्माण गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएर फर्केका मन्त्री श्रेष्ठ चैतको पहिलो साता गृहमन्त्रालयमा जाने चर्चा चलेको छ । यिनै मन्त्री भौतिक मन्त्रालयमा बसे केही सुधार हुने अपेक्षा गरिएको छ । त्यसपछि आउने नयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले घरबेटी ठेकेदारलाई छुन पनि नसक्ने जानकारहरुले बताएका छन् । हाल भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागमा ठूलो संख्यामा पात्रहरु फेरिए पनि पद्धति पुरानै रहेकाले मन्त्री श्रेष्ठको चुरीफुरी रुग्ण सडक पुल र पुराना ठेक्काहरुको अनुगमन ओझेलमा पर्ने देखिन्छ ।
आफ्नो नूनको सोझो गर्न बिरालाको घाँटीमा घण्टी झुण्ड्याउने हिम्मत अहिलेका सचिव, डिजी र सुईहरुले नगर्ने समाचार श्रोतले बताएको छ । अरुलाई सुशासनको पाठ सिकाउने मन्त्री श्रेष्ठ आफूलाई माथिल्लो स्तरको नेता ठान्छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *