‘बिहे पास’ लाई दर्शकले रुचाउँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

नयाँ वर्षको अवसरमा बैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘बिहे पास’ लाई दर्शकले रुचाएको पाइएको छ ।
सामाजिक कथामा आधारित यो चलचित्रलाई रुचाइनुमा सामाजिक परिवेशलाई मुख्य विषयबस्तु बनाइनु रहेको दर्शकहरुले बताएका छन् । पत्नी तथा ससुरालाई फकाउनका लागि सरकारी जागिर खानैपर्ने बाध्यताका बीच युवाले गर्ने संघर्ष र प्रत्यत्नको विषयलाई यो चलचित्रमा समावेश गरिएको बताइएको छ ।
सरकारी जागिर खान प्रयत्न गर्ने पतिको भूमिकामा दयाहाङ राई छन् । उनकी पत्नीको भूमिकामा अभिनेत्री प्रकृति श्रेष्ठ र ससुरोमा विशाल पहाडीले भूमिका निर्वाह गरेका छन् । पहाडी सरकारी अधिकृतको भूमिकामा छन् । सरकारी जागिरको कुरा मात्र होइन, नेपाली जनजीवनका विविध आयामलाई पनि रोचकताका साथ यस चलचित्रमा प्रस्तुत गरिएको छ ।
नेपाल–भारत सीमामा चोरी बाटोबाट हुने तस्करी, कर्मचारीको घुस्याहा मनोवृत्तिलाई सो चलचित्रमा समेटिएको छ । यस्तै, लोकसेवा उत्तीर्ण गर्न आर्थिक चलखेल, प्रहरी तथा कर्मचारी प्रशासनलाई प्रभावमा पार्न विविध हतकन्डा अपनाउने कार्यहरुलाई समेटेकोले चलचित्रले बजार पाइरहेको बुझाइमा निर्माता पक्ष रहेको छ ।
यस चलचित्रमा हाँसो, मायाप्रीति तथा संवेदनशिलता जस्ता विषयलाई समेत संयोजन गरिएको बताइएको छ । प्रवेश पौडेलको निर्देशनमा बनेको यो चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *