भौतिक पूर्वाधारको बजेट उच्च दरमा कटौती

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुुर/ सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि भौतिक पूर्वाधार मन्त्रालयको बजेटको सिलिङ ठूलो मात्रामा कटौती गरेको छ । आगामी जेठ १५ गते हुने बजेट भाषणमा ५४ अर्ब बजेट घट्ने भएपछि अधिकांश विकासे योजनाहरुको खर्च घट्ने भएको बताइएको छ ।
बहुबर्षे योजनाका नाममा बढ्दै गएको बजेटको श्रोत घटेपछि सडक, डिभिजन, योजना र आयोजनाहरुमा कनिके बजेट छरे पनि नयाँ सडकहरु नबन्ने समाचार स्रोतले बताएको छ । चालू आ.ब. २०७९÷०८० मा निर्माण सम्पन्न भएको करिब १०–१२ अर्ब रकम अर्थमन्त्रालयले भुक्तानी नगर्दा निर्माण व्यवसायीहरुले कामै छाडेर बसेका छन् भने डिभिजन प्रमुख र योजना प्रमुखहरुले मोबाइलको स्वीच अफ गरी काठमाडौं आई अर्थ मन्त्रालय धाइरहेको बताइएको छ ।
चालु आ.ब.मा १६७ अर्बको बजेट कार्यान्वयन गरेको मन्त्रालयलाई यस पटक अर्थमन्त्रालयले ११२ अर्ब मात्रै दिने गरी बजेट बनाएपछि चोक्टा खाने सपना देखेका सडकका सु.ई., सिडिई र योजना प्रमुखहरु झोलमा डुब्ने भएका छन् । सरकारले श्रोत नै छैन भन्दै टाउको कन्याउन थालेपछि अधिकाँश पूँजिगत खर्चहरु नै कटौटीमा पर्दैछन् ।
मध्यपहाडी, मदन भण्डारी, हुलाकी र उत्तर दक्षिण करिडोर एवं सडक विस्तारका नयाँ आयोजनाहरुले पनि थप बजेट पाउने संभावना न्यून रहेपछि लागिसकेका ठेक्का पनि पूरा नहुन सक्ने जानकारहरुले बताएका छन् । बजेट न्यून हुने भएपछि खान पल्केका यो जनप्रमुख तथा डिभिजन प्रमुख माछो–माछो भ्यागुतो बन्ने भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *