बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि नसुध्रिने काँग्रेस

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ उपनिर्वाचनको परिणामले काँग्रेस अब सकिने कि सच्चिने भन्ने व्यापक बहस शुरु भएको छ । काँग्रेसको भोट बैंकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घण्टी बजाएपछि पनि होस नपाएका काँग्रेसका सांसदहरु बदनाम भएर बन्द भएको सांसद विकास कोष ब्यूताउने प्रयासमा लागेको समाचार श्रोतले बताएको छ ।
बजेटको छलफल गर्न बोलाइएको काँग्रेस संसदीय दलको बैठकमा स्वयं सभापति शेरबहादुर देउवाले जनताले काँग्रेसप्रति चासो लिन छाडेकाले गम्भीर बन्नुपर्ने र पार्टीलाई सुधार्नु पर्ने बताएका थिए । काँग्रेसलाई बदनाम बनाउन र ओरालो लगाउन उनी र उनकी श्रीमतीकै हात रहेको बताइन्छ । सभापति देउवाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट बनाउँदा लोकप्रिय तथा जनताको माग र समस्याबारे सम्बोधन हुने बजेट ल्याउन अर्थमन्त्रीलाई निर्देशन दिएका थिए ।
गत बैशाख ११ र १२ गते भएको बजेटबारेको छलफलमा कस्लाई के धन्दा घरज्वाईँलाई खानकै धन्दा भने झैं काँग्रेसका सांसदहरुले सांसद विकास कोष ब्यूँताउने प्रस्ताव गरेपछि अर्थमन्त्रीले बजेटमा राख्न नसकिने बताएपछि सांसदहरु ट्वाँ परेका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा छ करोड रुपियाँ दिएर बदनाम बनेको उक्त रकम पछि रु.चार करोडमा झारिएको थियो ।
पछि सांसदमाथि नै आर्थिक चलखेलको प्रश्न उठेपछि २०७८÷०७९ को बजेटमा उक्त स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तात्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खारेज गरेका थिए । अहिले फेरी बदनाम बन्न पुगेको सांसद विकास कोषलाई ब्यूताएर आफ्ना स्वार्थ पूरा गर्न खोज्ने काँग्रेसी माननीयहरुलाई बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राखे पनि उस्तै भनी चर्चा शुरु भएको छ । त्यसैले काँग्रेसका जनप्रतिनिधिहरु र सांसद नसच्चिए सकिने समय धेरै टाढा नरहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *