नक्कली भुटानी शरणार्थी प्रकरणले जरो गाड्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयसहित गरी ‘हाई प्रोफाइल’ का व्यक्तिहरु तानिने भएका छन् । २०७४ चैत २७ गतेदेखि २०७६ सम्म गृहसचिव बनेका हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई, २०७६ देखि २०७८ साउन २७ गतेसम्म गृहसचिव रहेका महेश्वर न्यौपाने (हाल अवकाश) त्यसपछिका हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे पनि सो प्रकरणमा मुछिएका छन् ।
त्यसबाहेक तात्कालिन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, तात्कालीन ऊर्जामन्त्री (हाल नेकपा एमालेका सचिव एवम् सांसद) टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी, तात्कालिन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई र उनका छोरा निरज राईलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि लहरो तान्दा पहरो गर्जने भएको छ ।
यस प्रकरणमा मुख्य भूमिका खेलका केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र टंककुमार गुरुङले आठ सय ४५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर एक अर्ब बढी रुपियाँ ठगी गरेको पत्ता लागेको थियो ।
ठगी गिरोहमा संलग्नहरुको बयानका आधारमा गत बैशाख १९ गते सुरक्षा सल्लाहकार राईलाई पनि प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ भने उनका छोरा फरार रहेको समाचार स्रोतले बताएको छ । सुरक्षा सल्लाहकार राईले गृहसचिव लगायतलाई मिलाउनुपर्ने भन्दै पाँच करोड ६० लाख रुपियाँ असुलेका बताइएको छ । अनुसन्धानमा मुछिएकाहरुलाई प्रहरीले खुट्टा नकमाई पाता कस्नुपर्ने जानकारहरुले बताएका छन् ।
राजनीतिका नाममा ब्यापार गर्ने रामबहादुर थापा (बादल), टोप बहादुर रायमाझी र सुरक्षा सल्लाकारको नाममा गृहमन्त्रालयलाई कमाउअड्डामा परिणत गर्ने इन्द्रजित राई र गृह प्रशासनकै बेइज्जति गर्ने राई, न्यौपाने तथा पाण्डेलाई कठघरामा उभ्याउनु पर्ने ब्यापक चर्चा चलेको छ । मालपोत, नापी, यातायात र भन्सारका दुई–पाँच हजार रुपियाँ घुस खाने कर्मचारीहरूलाई समातेर प्रगति एवं लक्ष्य देखाउने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई गृहसचिव हुँंदा मुछिएको काण्डमा राजनीतिक नेतृत्वले उन्मुक्ति दिन मिल्ला र ? दलको कोटामा अख्तियार छिरेका राईलाई पनि कानूनको कठघरामा नल्याए सानालाई ऐन, ठूलालाई चैन भनेजस्तै हुने जानकारहरूले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *